धरान/पर्यटन साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले धरानमा पर्यटन जनशक्ति विकाससम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहीबारदेखि सुरु भएको छ । 

पर्यटन कार्यालय धरानको आयोजनामा सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ । दुई दिन धरान र तीन दिनसम्म धनकुटाको डाँडाबजारमा तालिम आयोजना गरिने प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए । तालिममा कोशी प्रदेशका १४ जिल्लाका ३० जना प्रशिक्षार्थी सहभागी छन् । प्रत्येक जिल्लाबाट २ जनाका सहभागी आएको आयोजक पर्यटन कार्यालय धरानका कार्यक्रम संयोजक भीषम राईले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले गरे । कोशी प्रदेश सरकारले यो वर्ष कोशी पर्यटन वर्षका रूपमा मनाइरहेको छ । तालिमलाई ग्रामीण पर्यटन विज्ञ डा. चेतनाथ कँडेल र प्रशिक्षक मोहन श्रेष्ठले सहजीकरण गरिरहेका छन् । पर्यटनको विषयमा व्यापक छलफल हुँदै आए पनि पर्यटनको बारेमा जानकारी दिने मान्छेहरुको अभाव रहेकाले तालिम दिइएको सदस्य बरालले जानकारी दिए ।

“पर्यटनको कुरा चाहिँ व्यापक हुन्छ । आवश्यक जनशक्ति नै छैन । जनशक्ति तयार होस् । जसले अभियान चलाउन सकून् भन्ने उद्देश्य हो’’ सदस्य बरालले भने, “तालिममा सरोकारवालाहरू नै सहभागी छन् । तालिमप्राप्त मेनपावरले ग्रामीण क्षेत्रमा गएर पर्यटनको कुरा गर्नेछन् ।’’

प्रशिक्षक डा. कँडेलले पर्यटन के हो ? कस्ता कस्ता हुन्छन् ? पर्यटन प्रणाली र दिगो पर्यटन विकासको अवधारणा र अभ्यासहरु, नेपालमा पर्यटनको विकासको स्थिति र समस्याहरुबारे जानकारी दिएका छन् । उनले कोशी पर्यटनको विगत, वर्तमान र भविष्य, अबको बाटोलगायतका विषयमा जानकारी दिए ।

यस्तै ग्रामीण पर्यटन विकासमा स्थानीय सहभागिता अभिवृद्धि कसरी गर्ने भन्ने विषयमा पनि जानकारी गराइएको छ । तालिममा सहभागी तेह्रथुम आठराई गाउँपालिका २ खोरुङदेन सामुदायिक होमस्टेकी सञ्चालिका सृजना लामा फोम्बोले होमस्टेले सोचेजस्तो उपलब्धि दिन नसकेको बताइन् । उनका अनुसार सुरुवातमा केही राम्रो भए पनि हाल सामान्य मात्रै रहेको बताइन् । उनले यो तालिमबाट आफूले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन भूमिका खेल्ने बताइन् ।

‘पर्यटनलाई आर्थिक पाटोसँग जोड्न सके महिलाहरूको श्रम गाउँमै बिक्थ्यो’ उनले भनिन्, ‘ग्रामीण महिलाहरूको श्रम होमस्टे मार्फत बिक्री ग¥यो भने आर्थिक सबल बन्न सक्छन् र आफ्नो सामान पनि बिक्री गर्न सक्छन् भन्ने र त्यो बारेमा बुझाउन सजिलो हुन्छ भन्ने आशा गरेको छु ।’