indexराजविराज / जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले आइतबार गरेको छड्के जाँचका क्रममा २ सय १० जना सरकारी कर्मचारी अनुपस्थित रहेको पाइएको छ । टोलीले जिल्ला विकास समिति, राजविराज नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला कृषि विकास कार्यालय, वन कार्यालय, जनस्वास्थ्य कार्यालय, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, शिक्षा, शहरी विकास डिभिजन, पशु सेवा, नेपाल विद्युत् प्राधिकरण, मालपोत कार्यालय र जिल्ला प्राविधिक कार्यालयमा छड्के गरेको हो । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा खटिएका विभिन्न सातवटा टोलीले छड्के गर्दा मालपोत र राजविराज नगरपालिकाका प्रमुख नभेटिएको तथा १७१ जना ननगजेटेड र श्रेणीविहिन कर्मचारी तथा ३९ जना अधिकृत अनुपस्थित रहेको उनले बताए । १३ वटा सरकारी कार्यालयमा छड्के गर्दा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो । छड्के टोली बिहान सवा १० बजे एकैपटक सरकारी कार्यालयहरुमा पुगेका थिए । टोलीहरुले छड्के गर्दा अधिकांश कर्मचारीले पोशाक तथा परिचयपत्र नलगाएको पाएको उनले बताए । सरकारी कार्यालयहरुका सेवा–सुविधा अपेक्षाकृत प्रभावकारी नभएको भन्ने जनगुनासो बढेपछि छड्के जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सरकारी कार्यालयहरुमा छड्के जाँच गर्ने कार्यलाई आवश्यकताअनुसार निरन्तरता दिने बताउँदै उनले अनुपस्थित कर्मचारीहरुलाई निजामति सेवा नियमावलीबमोजिम आवश्यक कारवाहीका लागि सम्बन्धित विभागमा पठाउने जनाए ।