bamइटहरी / स्थानीयले प्रहरी बीट निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्ने तयारी गर्दै गर्दा प्रहरीबीटलाई लक्षित गरी बम फेला परेको छ । सुनसरीको बक्लौरी ४ पञ्चायन पिपल चौकमा निर्माण गरिएको प्रहरी बीटलाई लक्षित गरी बुधबार सुतली बम फेला परेको स्थानीय विष्णुप्रसाद पौडेलले बताए । समयमै थाहा पाएका कारण बमबाट कुनै क्षति हुन पाएन । विहान ९ बजेतिर प्रहरी बीट छेउमा बम फेला परेको थियो । स्थानीयको खवर पछि केही समयमै पुगेको प्रहरीले बमनै भएको अनुमान गरी शसस्त्र प्रहरीको टोलीले बम डिस्पोज गरेको पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले प्रहरी बीट भनेर तयार गरिएको ठाउँ नजिक बम जस्तो बस्तु फेला परेको र शसस्त्र प्रहरीको टोलीले डिस्पोज गरेको जानकारी दिए । बक्लौरी–४ पञ्चायन वस्ती बीचमा रहेको प्रहरी बीटमा बम फेला परे पछि स्थानीय त्रसिद भएका छन् । स्थानीय विष्णु प्रसाद पौडेलका अनुसार पञ्चायन सामुदायिक वन र स्थानीयको सहभागितामा एक लाख २५ हजार रुपैयाँको लगानीमा प्रहरी बीट निर्माण गरिएको हो । सो स्थान नजिक जंगल भएकोले काठ चोरी हुने तथा गैरकानुनी क्रियकलाप हुने गरेको स्थानीयको भनाई छ । यस्ता गतिविधी नियन्त्रण गर्न स्थानीयले प्रहरी चौकीको माग गर्दै आएका छन् । निर्माण गरिएको भवनको चावी इलाका प्रहरी कार्यालय पकलीलाई हस्तान्तरण गर्ने तयारी गर्दै गर्दा बम फेला परे पछि वस्तीमा त्रास फैलिएको छ । तीन वटा तार फलामको पाइप र वरी परि टेपले बेरिएको अवस्थामा फेला परेको सो वस्तु डिस्पोज गराउँदा ठूलो आवाज आएको स्थानीयले बताएका छन् । बम कस्ले राखेको हो भन्ने केही  खुल्न सकेको छैन ।