धरान /६१ औं प्रहरी दिवस भव्यताका साथ देशभर विविध कार्यक्रम गरी मनाइएको छ । २०१२ सालमा स्थापित नेपाल प्रहरीले जिल्ला, क्षेत्र, अञ्चल र केन्द्र स्तरमा विविध कार्यक्रम गर्दै प्रहरी दिवस मनाएको हो ।

यसैक्रममा कोशी अञ्चल प्रहरी कार्यालय धरानमा पनि अमर प्रहरी स्मारकमा पुष्पहार र तोप सलामी दिँदै कार्यक्रमको सुभारम्भ गरिएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । अञ्चलका डिएसपी विद्यानन्द्यद माझीले संगठन प्रमुखको सन्देश वाचन गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा सधै झै यसवर्ष पनि पूर्व सई लालबहादुर कार्कीले प्रहरीसँग सम्बन्धित कविता वाचन गरेका थिए । यसैबीच ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । प्रहरी दिवसकै अवसरमा ब्याडमिन्टन प्रतियोगितासमेत गराइएके थियो ।
त्यस्तै असोज १३ गते अञ्चल परिषरमा रक्तदानसमेत गरिएको थियो । जसमा सयजनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई दिवसको अवसरमा प्रमाण पत्र वितरण गरिएको कार्यक्रम सञ्चालक एवम् इनिस्पेक्टर लक्ष्मी भण्डारीले बताए ।
कार्यक्रममा ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्ण सुब्बा, धरान मालपोत कार्यालयका प्रमुख उपसचिव भीमप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक नगेन्द्र दाहालले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
त्यस्तै रेफ्रीहरुलाई सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी रमेश सुवेदीले प्रशंसा पत्र वितरण गरेका थिए । साथै, अञ्चल प्रहरी कार्याल्यमा सहयोग पुर्याउने दाताहरुलाई जिल्ला प्रहरीका प्रमुख एसपी पोषराज पोखरेलले प्रशंसा पत्र वितरण गरेका थिए ।
यसैबीच भूतपूर्व प्रहरी संघका संस्थापक अध्यक्ष ज्येष्ठ नागरिक पूर्व सई बुद्धिमान श्रेष्ठलाई सम्मानितसमेत गरिएको थियो ।