काठमाडौं/आजदेखि राजधानीमा ट्राफिक नियम थप कडा गरिने भएको छ । दैनिक रुपमा बढिरहेको सवारी चापलाई मध्यनजर गर्दै आजदेखि ट्राफिक प्रहरीले कडाई गर्न लागेको हो । traffic_police गत मंसिर २ गते यातायात व्यवस्था विभागले ट्राफिक व्यवस्थापन सम्बन्धी प्रावधानलाई लागू गर्न लागिएको हो । यसका लागि ट्राफिक प्रहरी महाशाखाले सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तरक्रियासमेत गरेको थियो । नयाँ नियममा के छ ? आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न नपाउने प्रहरीले जनाएको छ । नियम विपरित तोकिएको समय भन्दा पहिले नै प्रवेश गर्ने गाडीवालालाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै सिट क्षमता भन्दा बढी यात्रु राखे पनि कारबाही हुने छ । यसअघि कोचाकोच गरेर बस तथा माइक्रोहरुले यात्रु ओसार्दै आएका थिए । ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न नपाउने नियम पानी र इन्धन बोक्ने सवारीको हकमा भने लागू हुने छैन । यस्तै विद्यालयका बसमा पनि यो नियम लागू हुने छैन । नयाँ नियम अनुसार सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गरिएको छ । यसअघिको सवारी नियम अनुसार सवारी साधन गुडिरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न विपरित लेन हुँदै सवारी क्रस गरेर जाने गरिएको थियो भने फर्काउन जथाभावी दायाँ मोड्ने गरिएको थियो । अब भने सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न नयाँ नियमले सघाउ पुग्ने ट्राफिक प्रहरीको विश्वास छ । राजधानीमा दिनहुँ चर्को ट्राफिक जाम हुँदै आएको छ ।