धरान/सुनसरीको भरौलस्थित एक सुन पसलका सञ्चालकले स्थानीयको करोडभन्दा बढी रुपैयाँ ठगेर अदालतमा उल्टो मानहानीको मुद्दा हालेपछि आफुहरु थप पीडित बनेको पीडितहरूले बताएका छन् । तर, पीडक भनिएकाले भने मानहानीको मुद्दा नहालेको दावी गरेका छन् ।भरौल–१, कालाबञ्जारमा तीन वर्षअघि खोलिएको भरौल सुनचाँदी पसलका सञ्चालकले ५५ जनाभन्दा बढी स्थानीयको सुनलगायत धितो राखेर उल्टो मानहानीको मुद्दा हालेको कुरा पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरी बताएका छन् ।
गत साउनमा सो पसलका सञ्चालक उमेश विकको निधन भएपछि उनका जेठान लालबहादुर सिङ्गौरे र श्रीमती मीनाले बिल र रकम प्रदान गरे धितो फिर्ता गरिदिने भन्दै रकम लिएको पीडितहरू बताउँछन् ।पीडित भरौल–१ की कमला कार्कीले ५ दशमलव ३२ ग्राम सुन धितो राखेर ८ हजार ५ सय रुपैयाँ लिएको बताउँदै बीचमै सञ्चालक उमेशको मृत्यु भएपछि उसको जेठानलाई ब्याजसहित साँवा दिए पनि हालसम्म सुन फिर्ता नगरेको बताइन् । उनले भनिन्, ‘८ हजार ५ सयको ब्याजसहित मिनालाई रकम बुझाएँ तर सुन अहिलेसम्म पाउन सकेको छैन ।’उनीजस्ता ५५ जनाले पैसा लगेर बुझाए पनि धितो फिर्ता नगरिएको पीडा पोखेका छन् । भरौल–५ की आशा लिम्बूले ब्याज आउने लोभमा आपूmले २ लाख रुपैयाँ दिएको जनाउँदै त्यसको न ब्याज न साँवा केही प्राप्त नभएको बताइन् । उनले उमेश जीवित हुँदा आपूmले ब्याज साढे ६ हजार प्राप्त गरेको बताइन् ।
स्थानीय श्याम कार्कीले ब्याजको लोभमा ६ लाख रुपैयाँ दिए पनि हालसम्म साँवा–ब्याज नै प्राप्त नगरेको पीडा पोखे । अहिले सो रकम माग्दा जिल्ला अदालतमा उल्टै मुद्दा लगाइएको उनले बताए ।उमेशको निधन भएपछि जेठानले नै रकम दिने भने पनि नदिएपछि १५–१६ जना पीडितले प्रहरीमा उजुरी दिएर सो उजुरीको आधारमा प्रहरीले पक्राउ गरेपछि उनले मानहानी गरेको भन्दै आपूmमाथि अदालतमा मुद्दा हालिएको सुनाए । ‘पीडितमाथि हामी थप पीडित बनेका छौँ, उल्टै हाम्रो पैसा खाइरहेको छ’, उनले भने, ‘उल्टै हामीमाथि मानहानीको मुद्दा हालेको छ ।’ ६ लाखमध्ये ३ लाख जेठान लालबहादुरको हातमा भाइ श्यामले दिएको कुलबहादुर कार्कीले बताए । तर, अहिले कुरा गर्दा ‘त्यतिखेर मैले पैसामात्रै गनिदिएको’ भन्दै टार्ने गरेको उनले बताए । ‘ज्वाइँले धितो राखेको रकम ल्याऊ, मै दिउँला भन्दै पैसा धेरैबाट लग्यो । अहिले न त सुन दिन्छ, न त पैसा नै’, उनले फोन सम्पर्कमा भने, ‘उल्टो मानहानीको मुद्दा हालेर पीडितहरूलाई पीडा दिइरहेको छ ।’लालबहादुर सुन पसल खोलेर इटहरीमा बसेको उनीहरूले बताए । धितो राखेको सुन फिर्ता गरिदिन्छु भन्दै उनीहरुले धेरैबाट पैसा र बिल लगेको पीडित सुशिला गुरुङको भनाइ उद्धृत गर्दै कार्कीले बताए ।
‘एक तोला सुन राखेर ३० हजार रुपैयाँ झिकेको थिएँ । त्यसको साँवाब्याज बुझाएँ तर सुन अहिलेसम्म दिँदैन ।’ गुरुङको भनाइ उद्धृत गर्दै कार्कीले भने । बिहेमा जाने भन्दै लगेको तीन तोला सुन हालसम्म फिर्ता नगरिएको विष्णु थापाको भनाइ छ । पीडितहरूको एक करोडभन्दा बढीको सुन तथा रकमको कारोबार गरेको पीडितहरू बताउँछन् ।मिना र लालबहादुर इटहरीमा सिङ्गौरे सुनपसल खोलेर बसेका छन् । पीडक भनिएका लालबहादुरले भने आपूmले कसैलाई पनि धितो फिर्ता गरिदिने कुरा नगरेको र कसैको पैसासमेत नलिएको दावी गरे । ‘मैले कसैसँग एक पैसा पनि लिएको छैन’, उनले फोन सम्पर्कमा भने, ‘एकदमै भूmटो आरोप लगाइरहनुभएको छ ।’ उनले आपूmलाई अनाहकमा प्रहरी लगाएर पक्राउ गर्ने काम गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा हालेको बताए । उनले आपूmले मानहानीको मुद्दासमेत नलगाएको स्पष्ट पारे । ‘म व्यवसाय गर्ने मान्छेलाई प्रहरी लगाएर पक्राउ गर्न खोजियो । अरेको भरमा पक्राउ गरियो । त्यही भएर अदालतलाई गुहार्नु परेको हो ।’
उनले भने ।उनले ज्वाइँ उमेशले पैसा चलाएको हुन सक्ने बताउँदै आपूmले फिर्ता गरिदिन्छु भनेर कसैसँग पनि नभनेको बताए । ‘उनीहरूको कारोबार उमेशसँग हो । उमेशसँग कति कारोबार भयो, त्यो मैले जान्ने कुरा पनि भएन । मलाई अनाहकमा बेइज्जत गर्ने काम भएको छ’, उनले भने, ‘उल्टो ज्वाइँसँग मैले १५ लाख रुपैयाँ लिनु छ ।’ श्याम कार्कीको ३ लाखको विषयमा उनले त्यस बेला आपूmले एक लाख रुपैयाँ गनिदिएको बताए । ‘१० हजार रुपैयाँ दिँदा कागज गर्ने मान्छेले ३ लाख रुपैयाँ लग्दा कसरी कागज गरेन, मै छक्क परेको छु ।’ उनले भने ।