
रामधुनी/ दाउराको पुर्जी कटाएर सखुवाको गोलिया काठ उपभोक्तालाई दिए पछि सुनसरीको रामधुनी–४ स्थित रामधुनी नमुना पूर्व उत्तर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र उपाध्यक्ष माथि उपभोक्ताले कारवाहीको माग गरेका छन् ।
स्थानीय इन्द्रबहादुर बवयकोटीको छोरीका विवाहमा दाउरा दिने नाममा ८ हजार रुपैयाँ लिई सखुवाको दश विकी काठ दिएको भन्दै सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश आचार्य र उपाध्यक्ष नेपुलाल चौधरीलाई उपभोक्ताले कारवाहीको माग गरेका हुन् । गत वैशाख २७ गते सखुवाको रुख कटाई अध्यक्ष र उपाध्यक्षले वलयकोटीलाई दाउराको नाममा सखुवाको गोलिया दिएका थिए ।
उनकी छोरीको विवाह र पुजा २८ गते भएको थियो ।रुख कटाएको विषयमा उपभोक्ताले जिल्ला वन कार्यालय सुनसरीलाई जानकारी गराएपछि मंगलबार वन कार्यालयबाट आएका कर्मचारीले स्थलगत अवलोकन गरेका थिए । सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले दाउराको नाममा सखुवाको रुख कटान गरेर विक्री गरेको कारण संलग्नलाई कारवाहीको प्रकृया अघि बढ्ने बताए ।
दाउरा दिने बहानामा सखुवाको १० किवी काठ दिई अध्यक्ष र उपाध्यक्षले वयलकोटीबाट ८ हजार रुपैयाँ लिएकोे सामुदायिक वन उपभोक्ता समितिका सह सचिव मनोज खड्काले बताए ।
वयलकोटीले पनि दाउराको लागि काटिएको रुखबाट दुई वटा टुना निस्किएको र सो बापत १० हजार चार सय रुपैयाँ दिनु पर्ने भन्दै अध्यक्ष र उपाध्यक्षले पैसा मागेको बताए । ‘त्यस पछि सहमतिमा ८ हजारमा कुरा मिल्यो’ उपभोक्ता वयलकोटीले ब्लाष्टसँग भने ‘मैले चार हजार रुपैयाँ दिएँ, बाँकी चार हजार रुपैयाँ दिन बाँकी छ ।’ त्यस अघि उनले दाउराको लागि ६ सय २५ रुपैयाँको रसिद काटेका थिए । तीन क्वीन्टल दाउरा एक उपभोक्ताले पाउने सो सामुदायिक वनमा नियम छ भने प्रति क्वीन्टल दुई सय रुपैयाँ तिर्नु पर्छ ।
झण्डै दश किवी काठ आउने सुकेको सखुवाको रुख कटान गरी उपभोक्ता समितिका अन्य पदाधिकारीलाई थाहै नदिइ अध्यक्ष र उपाध्यक्षले दाउराको नाममा काठ आउने रुख कटाई गैह्र कानुनी काम गरेको उपभोक्ता खेम मगरले बताए । वन उपभोक्ता समितिका सह–सचिव मनोज खड्काका अनुसार उपभोक्तालाई दाउरा वा काठ चाहिए घाटगड्डीबाट मात्रै वितरण गरिने व्यवस्था छ र तर अध्यक्ष र उपाध्यक्ष मिलेर साँझमा वनको रुख ढालेर सोझै वयलकोटीको घरमा प¥याएको पाइयो ।
कटान आदेश नभएको अवस्थामा रुख कटान गराउँदा वन ऐन अन्तरग कारवाही हुने सहायक वन अधिकृत यादवले बताए । ‘यहाँको काठसहितको मुचुल्का उठाएर मुद्धा दर्ता हुन्छ’ यादवले भने ‘हामी त्यसको प्रकृयामा छौं ।’
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश आचार्य र उपाध्यक्ष नेपुलाल चौधरीले पनि वयलकोटीबाट चार हजार रुपैयाँ लिएको स्वीकार गरेका छन् । ‘हामी वनकै आम्दामीमा बाँध्ने तयारीमा थियौं’ उनले भने ‘घाटगड्डीबाट दाउरा दिन नमिल्ने अवस्थामा अरु वेला पनि वनबाटै दाउरा दिने गरेका छौं ।’
दाउराको लागि काटिएको रुखबाट काठ निस्कने देखिए पछि वनकै आम्दामी बाँध्न आफूहरुले पैसाको कुरा गरेको उनीहरु बताए । काठ लिए बापत थप एक क्वीन्टल दाउरा पनि दिन बाँकी रहेको उनको भनाई छ ।