उदयपुर । खानेपानीको मुहान सुकेपछि उदयपुरको रौतामाईका वासिन्दा पुरानै समस्या भोग्न बाध्य भएका छन् ।
पर्याप्त वर्षा नहुँदा खानेपानीको मुहान सुक्न थालेपछि रौतामाई गाउँपालिका–३ का स्थानीयहरू पुरानै समस्या भोग्न बाध्य भएका हुन् । ०७२ सालको भूकम्पअगाडि धारामा पर्याप्त पानी आउँथ्यो । भूकम्पपछि पानीका मुहानहरू सुक्न थाल्यो । धारामा पानी आउन छाडेपछि डोकोमा गाग्री बोकेर पुरानो कुवा, पधेँरा र कोशी धाउनुबाहेक अरू कुनै विकल्प नभएको स्थानीय बताउँछन् ।

रौगापा–३ को बेलबोटे, आदामारा, बिमिरे, सोरखु, चण्ढौटे, बलौटेलगायतका गाउँहरूमा खाने पानीको समस्या सिर्जना भएको हो । पशुचौपायलार्ई कोशीको पानी खुवाउने गरेको र मान्छेले पनि घण्टौँ धाएर डोको र गाग्रीमा पानी बोकेर खाँदै आएको स्थानीय बताउँछन् ।

एक गाग्री पानी लिन करिब एक देखि २ घण्टा लाग्छ । बाबुबाजेले प्रयोग गर्दै आएको पुरानो कुवा, पधेँरामा पर्याप्त पानी नभई अधिकांश सुकि सकेको स्थानीय हिमाल कार्कीले बताए । ‘थोरैतिन पानी भएका कुवा, पधेँरामा एक गाग्री पानी लिन रात भर रुङ्नु पर्छ ।’ स्थानीय कार्कीले भने । बेँसीमा खेती हुनेहरू पुसमै कोशी गड्तिरतिर गाईबस्तु लिएर झर्ने गरेको र पानी परे घर फर्कने नभए बेंसीतिर नै बस्ने गरेका छन् । स्थानीय पानी परेपछि मात्रै गाउँ फर्कने गरको कार्की बताउँछन् । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नु र पर्याप्त पानी नपर्नाले गाउँमा अन्नबाली फल्न छाडेकाले कतिपयले गाउँ नै छाडेर बसाइँ सरिसकेको स्थानीय कार्कीले बताए ।

‘अहिले गाउँघरको ढोकामा ताला झुण्डिएको छ, खेती हुने बेँसी, नहुने बसाइँ सरेर गयो ।’ स्थानीय रङ्गबहादुर राईले भने । समय र पर्याप्त वर्षा नहुँदा अन्नबाली उब्जाउ नहुने, छरेको मकै बोट नै मर्ने, रोपेको कोदो बोटमै मर्ने गरेपछि वर्षेनी गाउँ छाडी बसाइँ सरेर जानेको सङ्ख्या तीव्र रूपमा बढेर गएको स्थानीय राईले बताए । खाने अन्न र पिउने पानी दुवै नभएपछि सहरबाट ल्याएको चालम खान सक्ने हैसियत नभएकाहरू घरमा ताला लगाएर बसाइँ सरेर जाने क्रम बढ्दै गएको उनले बताए । एकै गाउँबाट वर्षेनी ५–१० घर बसाइँ सरेर जाने गरेको उनी बताउँछन् ।

पुराना धाराका मुहानहरू सुक्यो, परापूर्वकालदेखि प्रयोग गर्दै आएका कुवा, पधेँरासमेत सुकेपछि गाईबस्तु र मानिसले कोशीको पानी खानुभन्दा कुनै उपाय नभएको राई बताउँछन् । यही गतिमा वर्षा नहुने हो भने गाउँ रित्तिने राईको चिन्ता छ ।

स्थानीय सरकार गाउँपालिकाले खानेपानीको समस्या आएको क्षेत्रमा सोलार सिस्टमबाट पम्पिङ गरी कोशीको पानी तानेर खानेपानीको समस्या हटाउने भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया नचालेको स्थानीय राईले बताए । खानेपानीकै समस्या परेपछि गाउँ छाड्नुबाहेक कुनै विकल्प नरहेको राई बताउँछन् । लिम्चुङ्बुङ गाउँपालिकाले ल्याएको लिफ्टिङ सिस्टमको खानेपानी आयोजनामा खडेरीपीडित गाउँहरू पनि परेकाले ती गाउँको सर्भे गरिएको छ । तर खानेपानी स्थानीयले कहिले पाउने भन्ने चाहिँ अन्योल छ । खानेपानीको हाहाकार मच्चिए पनि स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले चासो नलिएको स्थानीयको गुनासो छ ।

आफ्नो वडामा पानीको समस्या आएपछि गाउँसभामा समेत कुरा उठाएको रौतामाई गाउँपालिका–३ का वडाध्यक्ष दुर्गराज खड्काले बताए । गाउँसभामा उठाइएका कुरा सम्बोधन भएकाले ओडारे खोलाको पानी ल्याउने योजना भएको वडाध्यक्ष खड्काको भनाइ छ । भूकम्पले गर्दा पानीको मुहान सुक्न थालेकाले वाडाबासीलाई खानेपानीको समस्या भएको वडाध्यक्ष खड्काले बताए । पानीको मुहान करिब १४ किलोमिटरसम्म टाढा रहेको छ । उक्त गाउँमा मात्रै नभई वडा भरि नै पर्याप्त पानीको व्यवस्था नभएको वडाध्यक्ष खड्काले बताए ।

सुख्खा र डाँडाकाँडाले ओगटेको वडा भएकाले पानीको समस्या आएको उनी बताउँछन् । अन्य वडामा पनि पानीको केही समस्या आएको भए पनि गाउँ नै छाडेर बसाइँ हिड्नु पर्ने बाध्यता नआएको वडाध्यक्ष खड्काले बताए ।