कञ्चनपुर /  बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 
महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको हुनसक्ने उनले बताए । गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले भने , “गर्भवती थिइन्, छारे रोग(मृगि)को औषधि सेवन गर्दै आएकी थिइन् ।” 

स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।