बेलबारी । मोरङको बेलबारीका पत्रकार निकेश बराललाई नेविसङ्घका कार्यकर्ताले शुक्रबार कुटपिट गरेको छ ।
बेलबारीबाट प्रकाशित उज्यालो प्रदेश डटकमका संवाददाता बराललाई सुकुना क्याम्पसमा भइरहेको विद्यार्थीहरूको आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा नेविसङ्घको कार्यकर्ताहरूले कुटपिट गरेका थिए । नेविसङ्घको प्रर्दशनको मोबाइलबाट भिडियो खिचिरहेका पत्रकार बरालले आफू पत्रकार भएको परिचय दिँदा पनि कुटपिट गरेको पीडित बरालले बताए । कुटपिटबाट बरालको टाउकोमा सामान्य चोट लागेको छ भने देब्रे हातको पातामा चोट लागेको छ । उनको मोबाइलमा पनि क्षति पुगेको छ ।
पीडित पत्रकार बरालले शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीमा नेविसङ्घ मोरङ क्षेत्र नं. ३ का सभापति होमनाथ पोख्रेल र तरुण दल मोरङ कोषाध्यक्ष नवीन रिजालविरुद्ध किटानी जाहेरी दिएका छन् । पत्रकारमाथिको कुटपिटको घटनाको भत्र्सना गर्दै प्रेस चौतारी नेपाल र प्रेस सङ्गठन नेपालले दोषीमाथि कारवाहीको माग गरेको छ । प्रेस चौतारी नेपालका महासचिव राजेश राई र प्रेस सङ्गठन नेपालका महासचिव विष्णु सापकोटा जुगलले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी पत्रकारमाथिको आक्रमणको भत्र्सना गरेको छ । ‘स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथिको यस प्रकारको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो,’ विज्ञप्तिमा भनिएको छ । यसैबीच उज्यालो प्रदेश मिडिया प्रालिले एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।