धरान । प्रहरीले धरान–१५ सदन स्कुलनजिकै बस्ने ३९ वर्षीय सरोज गुरुङ र उनका साथीहरू विजय राई तथा सुरेश राईलाई बिहीबार बिहान पक्राउ गरेको छ । उनीहरूको साथबाट दुई थान पेस्तोल र गोलीसहित खैरो हेरोइन, मुखुण्डो बरामद गरेको छ ।

विभिन्न लुटपाट, लागूपदार्थको ओसार–पसार र बिक्री वितरणजस्ता आपराधिक गतिविधिमा गुरुङ र राईद्वय संलग्न भएको सूचना पाएको आधारमा प्रहरीले बिहीबार रातभर सर्च अप्रेसन सञ्चालन गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

राईद्वय धरान–११ स्थित प्रवीण राईको घरको कोठा भाडामा लिएर बस्दै आएका थिए । पक्राउ परेका २९ वर्षीय विजय राई भोजपुर आमचोक– ६ र सुरेश भोजपुरको हतुवागढी–२ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनीहरू दुवै धरान–११ मा एकै ठाउँ बस्दै आएका थिए । पक्राउ परेका विजय राई सशस्त्र प्रहरी बलबाट भगौडा रहेको पनि खुलेको छ ।

एकमहिना अघि जेठ १२ गते धरान–४ साउनेटारमा भएको गोलीकाण्डपछि प्रहरी सक्रिय भएर आपराधिक समूहको खोजीलाई तीव्र बनाएको थियो । आपराधिक गतिविधिमा संलग्नको खोजी गर्ने सिलसिलामा तीनजनालाई हातहतियार, लागूपदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । उनका अनुसार प्रदेश प्रहरी, जिल्ला प्रहरी र धरानका इलाका प्रहरी कार्यालयबाट खटेका टोलीले सबैभन्दा पहिलो धरान–१५ सदन स्कुलनजिकै बस्ने सरोज गुरुङलाई राति नै पक्राउ गरेको थियो ।

गुरुङको कोठामा खानतलासी गर्दा सन्माइका इण्डष्ट्रियल लेखिएको दुईथान अटोमेटिक पेस्तोल, एक थान म्यागेजिन, उक्त म्यागेजिनमा लोड भएको ७.६५ लेखिएको एकथान गोली, ०७ लेखिएको पेस्तोलको १० थान गोली, ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने ५ थान गोली, लागूपदार्थ डाइलेक्स डिसी चार बोतल फेला परेको थियो ।

गुरुङले दिएको जानकारीको आधारमा सोही रात विजय र सुरेश पक्राउ परेका थिए । उनीहरूको कोठाबाट ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने नौ थान गोली, सानो टिनको बाकसमा स–साना १० पोकाको २ ग्राम ७ सय ३० मिलिग्राम खैरो हेरोइन, दुईथान धारिलो खुकुरी, एकथान फलामको नक, को. ९ प ४३९८ नम्बरको पल्सर बाइक, को. ५ प ३७५० नम्बरको एफजेड बाइक, तीनथान प्लाष्टिक मुखुण्डो, हेरोइनलगायत बहुमल्य सामग्री तौलने उपकरण, मोबाइल दुई थान, ६ थान डाइसका गोटी र नगद १५ हजार १ सय ३५ रुपैयाँ बरामद गरिएको थियो ।

एसपी पोखरेलले पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘उनीहरू कुनै पनि भूमिगत वा सार्वजनिक राजनीतिक दलसँग आबद्ध देखिँदैनन् । उनीहरूको साथबाट बरामद गरेको हतियार, मुखुण्डो, लागूपदार्थले उनीहरू आपराधिक गतिविधि, लुटपाट, लागूपदार्थ ओसार–पसार बिक्रीवितरणमा सक्रिय गिरोह भएको स्पष्ट हुन्छ ।’ प्रहरीले तीनजनाको बारेमा अरु जिल्लामा पनि भएका आपराधिक घटना जोडिए नजोडिएको विषयमा अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए ।

इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘एकजना धरानमै घर भएका र अरु दुईजना भोजपुर घर भए पनि धरानमा भाडामा कोठा लिएर आपराधिक गतिविधिमा सक्रिय रहेको देखिन्छ । अहिले प्रारम्भिक अनुसन्धान गरिरहेका छौं । यिनीहरूको सञ्जाल अरुतिर पनि रहेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेका छौं ।’