विराटनगर/ मादक पदार्थ सेवन (मापसे) गरी डिउटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका समाजवादी पार्टी नेपालका नेता उमेश यादव पाँच हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

विराटनगर रोडशेष चोकमा डिउटीमा रहेका प्रहरी जवान श्यामकुमार चौधरीमाथि साउन २८ गते हातपात गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

तीन दिन मोरङ प्रहरीको हिरासतमा बसेर यादव शुक्रबार दिउँसो पाँच हजार रूपैयाँ धरौटीमा छुटेका हुन् । प्रहरीमाथि कुटपिट गरेका यादवलाई अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरेको थियो ।

रोडशेष चोकमा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाएपछि प्रहरीले यादव सवार मोटरसाइकललाई रोकेको थियो । प्रहरीलाई अटेर गर्दै मोटरसाइकल अघि बढेपछि प्रहरीले मोटरसाइकलको चाबी निकालेका थिए । चाबी निकालेपछि मोटरसाइकल पछाडि बसेका यादवले प्रहरी जवान चौधरीमाथि कुटपिट गरेका थिए । प्रहरीका अनुसार चालक र प्रहरीमाथि कुटपिट गर्ने यादव दुवैले मापसे गरेका थिए ।

साउन २८ गते राति रोडशेष चोकमा दुईजना प्रहरी डिउटीमा खटिएका थिए । डिउटीमा रहेका प्रहरीमाथि कुटपिट भएलगत्तै पुगेको प्रहरी टोलीले यादव र मोटरसाइकल चालकलाई पक्राउ गरेको थियो । मोटरसाइकल चालकलाई मङ्गलबार राति नियन्त्रणमा लिएको प्रहरीले बुधबार बिहान गल्ती नदेखिएपछि छाडेको थियो ।

यादव स्थानीय तहको चुनावमा सङ्घीय समाजवादी फोरम र तत्कालीन माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका व्यक्ति हुन् । निर्वाचनमा भीम पराजुली निर्वाचित हुँदा विनोद ढकाल दोस्रो र उमेश यादव तेस्रो भएका थिए ।