विराटनगर/ अदालतले २ हजार जरिवाना र ६ महिना कैद सजाय तोकेर फैसला गरेको दुईजना अभियुक्तहरू खुलेआम हिँडडुल गर्ने गरेका छन् ।
दिनदहाडै विराटनगरमा तरवार प्रहार गरी तीन जनालाई घाइते बनाएका विराटनगर–९ घोघापुल चौकका एजाज अहमद परवेज र सोही ठाउँका आजम परवेजलाई जिल्ला अदालतले दोषी ठहर गर्दै तोकेको जरिवाना र कैद सजायको फैसलालाई उच्च अदालतले पनि सदर गरेको ११ दिन बितिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ नगर्दा खुलेआम हिँड्ने गरेका हुन् ।
विराटनगर–१२ का सालिम हुेसनका छोरा जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनलाई घर भित्र प्रवेश गरेर अभियुक्त एजाज अहमद र आजम परवेजले २०६९ साल भदौ ३ गते दिउँसो ३ बजे ज्यान लिने उद्देश्यले तरवार प्रहार गरेर घाइते बनाएका थिए ।
घरभित्र ल्यापटप चलाइरहेको अवस्थामा अभियुक्तहरूले जाकिरको २ वटै हातमा तरवार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । त्यस्तै साकिर र साजिदको कुम र ढाडमा तरवार प्रहार गरेका थिए । उनीहरूले धारिलो हतियार तरवारले शुरुमा जाकिरलाई प्रहार गरेका थिए । त्यसपछि साकिर र मोहम्मदलाई अभियुक्त एजाज परवेजले लखेट्दै तरवार प्रहार गरी घाइते बनाएको अदालतले गरेको फैसलामा उल्लेख छ । तरवार प्रहार गरी घाइते बनाउने दाजु–भाइ हुन् । अजाम परवेज दाइ हुन् भने एजाज अहमद भाइ हुन् ।
सरकारी वकिलको कार्यालयले एजाज र आजमसहित सातजनालाई प्रतिवादी बनाउँदै ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । पछि ज्यान मार्ने उद्योग ठहर नभएपछि मुद्दा परिवर्तन गरी कुटपिट मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत मोरङले २०७३ साल मङ्सिर ८ गते पाँचजनालाई सफाइ दिएको थियो भने तरवार प्रहार गरी घाइते बनाउने अभियुक्त एजाज र आजम परवेजलाई मुलुकी ऐन कुटपिट महलको ७ नम्बर कसूर अन्तर्गत २ हजार जरिवाना र ६ महिना कैद सजायको फैसला सुनाएको थियो । अदालतबाट टीका मियाँ, अफरोज खाँ, बिक्की खाँ, रामेश्वर मण्डल र चन्दन मण्डलले सफाइ पाएका थिए ।
वादीले बढी सजायको माग दाबी र प्रतिवादीले साधारण तारेखमा रिहा हुनुपर्ने माग राख्दै उच्च अदालतमा पुनरावेदन गराएका थिए । उच्च अदालत विराटनगरले का.मु. मुख्य न्यायाधीश र न्यायाधीश मेहश शर्मा पौडेलको संयुक्त इजलासले यही भदौ १० गते जिल्लाको फैसलालाई सदर गरिदिएको छ । उच्च अदालतले गरेको फैसला गत मङ्गलबार प्रमाणीकरण भएको छ ।
अभियुक्त दाजुभाइ गाउँघरमा
अदालतले दोषी ठहर गरेका अभियुक्त एजाज र आजम अहिले गाउँघरमा खुलेआम हिँड्ने गरेको पीडितका बुबा सामिल हुसेनले बताए । ‘जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतले पनि जिल्लाको फैसलालाई सदर गरेको यतिका दिनसम्म अभियुक्तहरू पक्राउ परेका छैनन्’ पीडित जाकिर हुसैनका बुबा सालिमले गुनासो पोख्दै भने, ‘विराटनगरमा खुलेआम हिँडडुल गर्छन् र पनि पक्राउ परेका छैनन् ।’
प्रहरीलाई यस विषयमा जानकारी गराउँदा पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनले बताए । आजम तत्कालीन वाईसिएल मोरङ जिल्ला सचिव भएको र राजनैतिक पहुँचको कारणले गर्दा पक्राउ नपरेको उनको भनाइ छ । विराटनगर–९ घोघापुल चौकदेखि दक्षिणमा एजाज र आजम बस्दै आएका छन् । ‘प्रहरीले बिहानीपख घरमा आएर छापा हान्यो भने पक्राउ गर्न सक्छ तर अहिलेसम्म आएर प्रहरीले खोजबिन पनि गरेको छैन । अदालतले दोषी ठहर गरेको फैसला प्रतिवेदन पनि जिल्ला प्रहरी कार्यालयमा दिइँदा पनि प्रहरीले किन पक्राउ गर्न चाहिरहेको छैन ? मैले बुझ्न सकिरहेको छैन’–उनले भने ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले अदालतले दोषी ठहर गरेका अभियुक्त खोज्न प्रहरीले टोली परिचालन गरेको बताएका छन् । ‘प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान नै चलाएको छ’ उनले भने, ‘अदालतले दोषी ठहर गरेको प्रतिवादी एजाज र आजम परवेजलाई पक्राउ गर्न प्रहरीले टोली पनि परिचालन गरेको छ ।’ खोजबिन गर्दै आएकोले प्रतिवादीहरूलाई चाँडै पक्राउ गरी अदालतमा हाजिर गराई कैद भुक्तान गराउन कारागार पठाउने डिएसपी श्रेष्ठले बताए ।