भद्रपुर / मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ५ स्थित बाङ्गेबजार नजिकैबाट आइतबार लक्ष्मी पूजाको दिन राती सोही ठाउँ बस्ने मिन्टु सरकारको मे ५ प ५८३७ नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको बारेमा मोटरसाइकल धनी सरकारले वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित भद्रपुर ५ का २३ वर्षीय शनि यादवलाई बिर्तामोडबाट मङ्गलबार पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । यादवले १० हजारमा उक्त मोटरसाइकल बिर्तामोडको सोनम गिरीको मोटरसाइकल ग्यारेजमा बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरी श्रेष्ठले बताए ।

त्यसैगरी भद्रपुर ७ का सुमन गिरीको हिरो कम्पनीको साइकल चोरी गरेको आरोपमा भद्रपुर ५ का मोहम्मद ऐनारुल पक्राउ परेका छन् । ऐनारुलले साइकल चोरी गरी भद्रपुर ५ का राधेश्याम कार्कीलाई बिक्री गरेको र बिक्री गरेको साइकल प्रहरीले भद्रपुर बजारबाट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोटरसाइकल चोर यादवलाई इलाका प्रहरी कार्यालय अनारमनि र साइकल चोरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।