भण्टाबारी । व्यापारीहरूले ढुवानी मापदण्ड विपरीत गाडीमा पशु लैजाने गरेको पाइएको छ । प्रहरीकै अगाडि व्यापारीहरूले मापदण्डको ठाडो उल्लङ्घन गरी गाडीमा कोचेर पशु ढुवानी गर्दै आए पनि प्रहरी भने मुकदर्शक बनेको पाइएको छ ।
बिहीबार साँझ साढे ७ बजेको समयमा सीमा प्रहरी चौकी भण्टाबारीका सइ कुलबहादुर खत्रीको नेतृत्वमा कोशी गाउँपापलिका वडानम्बर ८ स्थित हनुमान मन्दिरअगाडि चेकिङ भइरहेको समयमा ना.३ च ४३०३ नम्बरको सानो पिकअपमा कोचेर ल्याएको आधा दर्जन गोरु प्रहरीले चेकजाँचको क्रममा रोके पनि कुनै कारबाही नगरिकन त्यतिकै छाडियो । त्यहाँबाट भण्टाबारी चोकमा ड्युटीमा रहेका प्रहरीले मापदण्ड विपरीत गाडीमा पशु लैजाँदै गरेको अवस्थामा रोके पनि छाडिदिए ।
२०६४ सालमा बनेको पशु ढुवानी मापदण्डअनुसार पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, एक–आपसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्ने भनी उल्लेख भएको पशु क्वारेन्टाइन भण्टाबारीका प्रमुख अनिता घिमिरेले बताइन् । उनका अनुसार अनुगमन गर्ने दायित्व सबैको भएको बताउँदै व्यापारीले मापदण्ड उल्लङ्घन गरेको पाइए राजमार्गमा तैनाथ सुरक्षाकर्मीले कारबाही गर्न पशु क्वारेन्टाइनको जिम्मा लगाउनु पर्छ । पशुलाई नियमविपरीत जथाभावी नाक, मुखमा बाँधेर ढुवानी गर्न नहुने बताउँदै घिमिरेले त्यस्तो यातना दिएर पशु ढुवानी गरेको पाइएमा २०६४ पशु ढुवानी मापदण्डअनुसार ५ हजारसम्म जरिवाना तिराउने प्रावधान रहेको बताए ।
व्यापारीहरूले २ नम्बर प्रदेशको विभिन्न स्थानबाट पूर्वको विभिन्न स्थानसम्म यातना दिँदै कोचेर पशु ओसार–पसार गर्दै आएका छन् । अव्यवस्थित ढुवानीका कारण पशुको स्वास्थ्य, उत्पादन क्षमता र गुणस्तरमा नकारात्मक असर पर्ने जानकारहरू बताउँछन् । व्यापारीहरूले देशभित्र आन्तरिक ओसार–पसार गर्न पशुको हकमा गोठालासँगै पशु चिकित्सकद्वारा प्रमाणित गरिएको स्वास्थ्य प्रमाण–पत्र लिनुपर्ने हुन्छ ।
पशु ओसार–पसार गर्ने गाडीमा पशु पठाउने र पाउने स्थान र पशुको जात पनि खुलाउनु पर्ने हुन्छ । ढुवानी गर्दा पशु बाँध्नु हुँदैन भन्ने प्रावधान भए पनि व्यापारीहरूले गाडीको पछाडिको भागमा पशुको नाक र पुच्छर बाँधेर यातना दिई ढुवानी गर्दै आएका छन् ।
दैनिक रातको समयमा १० देखि २० वटासम्म गाडीमा पशुको ढुवानी गर्दै आएको स्थानीय आकिब खानले बताए । अनुगमन गर्ने प्रहरीकै मिलेमतोमा व्यापारीहरूले पशु ढुवानी गरिरहेको उनको आरोप छ । एउटा ढुवानी गर्ने गाडीमा कति पशु चौपाया बोक्न पाउने भन्ने बारेमा आफूलाई केही जानकारी नभएको नाम उल्लेख नगर्न आग्रह गर्दै एकजना व्यापारीले बताए । कहिलेकाहीँ ट्राफिक प्रहरीले पक्रेको खण्डमा १ हजारदेखि १५ रुपैयाँसम्म जरिवाना काटेर छाड्ने गरेको उनले बताए ।
मिलेमतोको आशङ्का
पशुको ढुवानी मापदण्ड विपरीत हुँदै आए पनि प्रहरीले कुनै कारबाही नगर्नुले प्रहरीकै मिलेमतो त भइरहेको छैन भन्ने आशङ्का उब्जिएको छ । दैनिक पशुलाई यातना दिँदै गाडीमा ओसार–पसार गर्दै आउँदा पनि प्रहरी मुकदर्शक बन्नुले मिलेमतोको आशङ्का गरिएको हो । पशु ढुवानी कसरी गरिएको छ भन्नेबारेमा अहिलेसम्म सम्बन्धित निकायले अनुगमन गरेको छैन । यता यसबारेमा जिज्ञासा राख्दा सीमा प्रहरी चौकी भण्टाबारीका सइ कुलबहादुर खत्रीले कागजपत्र हेर्ने काम मात्र प्रहरीको भएको भन्दै पन्छिन खोजे । पशु ढुवानी मापदण्डका बारेमा अनभिज्ञता जाहेर गर्दै सइ खत्रीले भने, ‘खरिद गरेको, पशु क्वारेन्टाइन र भन्सार काटेको छ–छैन भन्ने मात्र हामीले हेर्ने हो ।’