पथरी । मोरङ क्षेत्र नं ३ बाट सांसद् बनेका स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७६÷०७७ मा कानेपोखरी गाउँपालिकामा १ करोड २० लाख बजेट विनियोजन गरेका छन् ।

गाउँपालिकाले बजेटलाई वडा नं. ४ को प्रगती टोलदेखि नारायण चोक हुँदै मिलन चोक सडक स्तरोन्नतिका लागि १० लाख, वडा नं. ५ को जहदा भौंसाबारी २ मिलोमिटर सडक कालोपत्रेलाई ८० लाख, वडा नं. ६ को आर्दश टोल हुँदै मेलचौक उत्तर जाने बाटो कालोपत्रे २० लाख र वडा नं. ६ कै देउराली डाँडादेखि गुरुङटोल जानेबाटो स्तरोन्नतिमा १० लाख गरेर बजेट वितरण गरेको थियो ।

सबै योजनाको हाल धमाधम काम भइरहेको गाउँपालिकाले जनाएको छ । जस अन्तरगत वडा नं. ४, स्थित प्रगति चोक, नारायण चोक हुँदै मिलन चोक जोड्ने सडक निर्माण सुरु भएको छ । वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य रोशन लामिछाने गुरुङ र शिव दुलालको उपस्थितिमा सडक निर्माण औपचारिक रूपमा सुरु गरिएको थियो । सो बाटोका ९ सय ९५ मिटर लम्बाइ र १३ फुट चौडा ग्राभेल गर्ने स्टिमेट रहेको छ ।