धरान । धरान मुस्लिम समाजले दोस्रो चरणको ‘इद राहत प्याकेज’ वितरण गरेको छ ।

सोमबार धरान–३ स्थित गहुँधारामा एक सय ५० परिवारलाई ‘इद राहत प्याकेज’ वितरण गरेको हो । हालसम्म समाजले दुई चरण गरेर ३ सय जना परिवारलाई राहत वितरण गरेको समाजका संयोजक फिरोज अलीले बताए । उनका अनुसार थप ८० जना परिवारलाई रमजानको २९ औं दिनका दिन वितरण गरिने भएको छ ।

देशविदेशबाट प्राप्त सहयोग र व्यक्तिगत रकम जुटाएर राहत वितरण गरिरहेको हो । धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले राहत वितरण गरिन् । उनले मुस्लिम समुदायले यो रमजानपछि आउने इद उल फित्रमा आफ्नो भागको केही अंश गरिबलाई बाँड्ने जुन परिपाटी छ त्यो सह्राना योग्य रहेको बताइन् । उनले यसबाट अन्य धर्मालम्बीहरूले पनि सिक्न जरुरी रहेको बताइन् । उनले यसक्रममा इदको शुभकामना पनि दिइन् । त्यसक्रममा नेकपाका धरान नगर इन्चार्ज चोत्लुङ पनि सहभागी बनेका थिए ।

muslim_dharan_rahat (2)

समाजलाई राहत वितरणका लागि संघीय सांसद् जयकुमार राई, नेकपाका जिल्ला सदस्य प्रकाश राईले जनही १० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै धरानको मितेरी विकास बैकले १४ हजार ५ रुपैयाँ, मुस्लिम समाजका उपसंयोजक मोहम्मद समीमले २५ हजार रुपैयाँ, अष्ट्रेलियाबाट रिजाला खातुनले २० हजार र स्वयम् आफैले पनि व्यक्तिगत नगद ७ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । जुनसुकै समुदायका गरिब तथा विपन्न नागरिकहरूलाई राहत वितरण गरिएको हो ।