भोजपुर । जिल्लाको पौवादुम्मा गाउपालिकाले लकडाउनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ । गाउपालिकाले लकडाउननमा गाउपालिका क्षेत्रमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको हो ।

प्रोत्साहन स्वरुप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी ईन्चार्जलाई दैनिक ३ सय र अन्यलाई २ सयका दरले खाजा भत्ता उपलब्ध गराईएको गाउपालिका उपाध्यक्ष सम्झना राईले बताईन । यस्तै ईन्चार्जहरुलाई एक हजार र ५४ जना स्वास्थ्य स्वयम सेविकाहरुलाई मासिक पाच सयका दरले सञ्चार खर्च उपलब्ध गराईएको उनले जानकारी दिईन ।

उपाध्यक्ष राईका अनुसार गाउपालिकाले ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङ , प्रहरी चौकी वास्तिम र प्रहरी चौकी च्याङग्रेका तिन जना ईन्चार्ज सहित ४१ जना सुरक्षकर्मी भत्ता दिदै आएको छ । यस्तै स्वास्थ्य चौकीहरु श्यामसिला , तिवारी भञ्ज्याङ ,बास्तिम , च्याङग्रे , सानोदुम्मा र ठुलोदुम्माका ६ जना ईन्चार्ज सहित ३५ जना स्वास्थ्यकर्मीहरुलाई खाजा भत्ता उपलब्ध गराईएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले बताए ।

गाउपालिकाको ठुलोदुम्माको फत्तेपुर, सानोदुम्माको अधेरीघाट र सिक्रेमा पर्ने मुख्य तिन वटा नाकाका तिन जना हेरालुलाई समेत दैनिक एक हजार भत्तासंगै मासिक एक हजार सञ्चार खर्च उपलब्ध गराईएको छ । गाउपालिकाले बैशाख महिना सम्म भत्ता वापत सात लाख निकाशा गरिसकेको अधिकृत राईले जानकारी दिए ।