भद्रपुर । प्रदेश सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगर दक्षिण कचनकवल गाउँपालिकाभित्र जोडिएका नेपाल भारत सीमा क्षेत्रको वर्तमान अवस्थाबारे अवलोकन गरेका छन् ।
कोरोना रोकथामका लागि सीमा क्षेत्रमा राखिएका अस्थायी प्रहरी पोष्टको अवस्था, सुरक्षाकर्मी तथा स्थानीयको समस्याबारे जानकारी लिने उद्देश्यले सांसद् सरावगीले पूर्वी दक्षिणी झापाको नेपाल भारत सिमाना क्षेत्रको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायत सरोकारवालासहित दुई पक्षीय संवादसमेत गरेका थिए । सरावगीलाई स्थानीयले भारतीय पक्षबाट असुरक्षा बढेको, चोरीको क्रम बढेको, चौपाया, अन्नबाली सुरक्षा चुनौती थपिएको गुनासो गरेका थिए । त्यसै गरी अस्थायी सुरक्षा पोष्टमा न्यूनतम सुरक्षा सामग्री नरहेका कारण सुरक्षाकर्मीको दैनिकी कष्टपूर्ण रहेको देखिएको सांसद् सरावगीले जानकारी दिए ।
सुरक्षाकर्मीका लागि प्लाष्टिकको टहरा होइन, न्यूनतम हावापानी रोक्न सक्ने जस्तापाताको व्यवस्था गरिनुपर्ने, जुत्ता, लाइट, सुरक्षित पञ्जा, शुद्ध पिउनेपानीको अभाव देखिएको उनले बताए । टोलीले भारतीय पक्षबाट आक्रमण गरिएको कचनकवल १ घेराबारीस्थित १२५/१० नम्बरको सीमा पिलर नजिकै खटिएका सशस्त्र प्रहरीको अस्थायी पोष्टको समेत स्थलगत अनुगमन गरिएको थियो ।