ताप्लेजुङ । जारी लकडाउनबाट प्रभावित बनेका ताप्लेजुङका ४ हजार ३ सयभनदा बढी परिवारलाई राहत प्रदान गरिएको छ ।

यहाँका ९ मध्ये ६ वटा स्थानीय तहले ४ हजार ३ सय १५ विपन्न परिवारलाई राहत प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिकामा १ हजार १३, आठराई त्रिवेणी गाउँपालिकामा ८ सय ३७, फक्ताङ्लुङ गाउँपालिकामा ८ सय २५ र मिक्वाखोला गाउँपालिकामा ५६ घर परिवारलाई राहत स्वरूप खाद्यन्न सामाग्री प्रदान गरिएको हो ।

यस्तै सिरिजङ्घा गाउँपालिकामा ९ सय २७ र पाथीभरा याङ्वरक गाउँँपालिकाका ६ सय ५७ विपन्न परिवारलाई स्थानीय तहले राहत वितरण गरेका छन् । दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, नुन, साबुन, टुथपेष्टलगायतका सामाग्री उपलब्ध गराएका हुन् । यसैबीच चैत महिना यता जिल्ला प्रवेश गरेका ४ सय ५० जनाको आरडिटी परीक्षण तथा १५ जनाको पिसिआर परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

यस्तै विभिन्न ठाउँमा स्थापित हेल्थ डेक्सहरूबाट सोमबार बेलुकासम्म ६ हजार ३ सय ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लामा हाल १ सय ७९ बेडको क्वारेन्टाइन र १४ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ भने पाथीभरा याङ्वरक गाउँपालिकामा २ र सिदिङ्वा गाउँपालिकामा ४ जनासहित ६ जना क्वारेन्टाइनमा राखिएको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उडड्ययन मन्त्री योगेशकुमार भट्टराईको पहलमा पीपीइ सेट, पीसीआर तथा आरडिटी किट, मास्क, पञ्जालगायतका थप समाग्री सोमबार फुङलिङ आइपुगेको प्रजिअ डोरेन्द्र निरौलाले जानकारी दिए । लकडाउनका कारण जिल्लाभन्दा बाहिर रहेका व्यक्तिहरूको विवरण संकलन समेत भइरहेको प्रजिअ निरौलाले बताए ।