इटहरी/ नेपाली काङ्ग्रेस सुनसरीका सह–सचिव नगेशचन्द्र राई कोरोना सङ्क्रमित भए । उनी अहिले आफ्नै घरमा आइसोलेसनमा छन् । विश्व महामारीको रूपमा रहेको कोरोना भाइरससँग लडिरहेका राईले आफूलाई लागेको रोग बारे सार्वजनिक नै गरे ।
तर समाजमा भने फलानोलाई कोरोना लाग्यो भनेर हल्ला गर्नेहरूले उनको मन दुखाए । राई एउटा समाजको अगुवा भएको कारण पनि त्यस्ता कुरालाई सहजै पचाए । समाजमा कोरोना लागेको मानिसलाई हेला गर्ने प्रवृत्तिले सङ्क्रमितहरूलाई रोगको भन्दा पनि सामाजिक डरले सताउन थालेको छ । सतर्क हुनु स्वभाविक भए पनि कोरोना लागेको भन्दै हेला गर्दा कोरोना सङ्क्रमित बिरामीहरू थप पीडामा पर्ने गरेको सङ्क्रमितहरू बताउँछन् ।
इटहरी–५ का २७ वर्षीय एक युवा भन्छन्, ‘कोरोना सङ्क्रमितलाई रोगसँग भन्दा पनि समाजका व्यक्तिहरूले मानसिक तनाव दिँदा म थप पीडित भएको छु ।’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार गरेर घर फर्किए पनि आफ्नो ठूलो बुबाको घरमा बस्न पुगेका उनलाई गाउँ, समाजले बस्न नदिएको उनले गुनासो गरेका छन् ।
एक साता हस्पिटल बसेर निको भएपछि ठूलो बुबाको घरमा आउँदा समाजले बस्न नदिएको उनको गुनासो छ । ‘मेरो घरमा आइसोलेसन वार्ड बनाउन समस्या हुँदा ठूलो बुबाको घरमा बस्न खोज्दा समाजले दिएन ज्यादै दुःखी भएँ’ उनले फोन सम्पर्कमा भने, ‘मैले मेरो घरमा सामान्य समस्या हुँदा आफ्नो ठूलो बुबाकोमा बस्न खोजेको थिएँ, नदिएपछि फेरि पहिला बसेकै घरमा आएँ ।’
‘एक सातापछि पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो, खुसीले अब त घर जान पाइयो भनेर आएँ, तर समाजमा मलाई हेर्ने दृष्टिकोण फरक देख्दा दुःख लाग्यो’–उनी भन्छन् । घरनजिकै रहेको आफ्ना ठूलो बुबाको खाली रहेको घरमा अरू १५ दिन आफू सुरक्षित बस्ने सहमति भए पनि गाउँघरका अन्य स्थानीयले भने आफूहरूलाई रोग सरेमा को जिम्मेवारी हुने भन्दै घृणित नजरले अपशब्द बोलेको उनको गुनासो छ ।
गत साउन २० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले स्वाब दिएका थिए । २२ गते बिहान ११ बजे उनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।
इटहरी–५ का एक युवालाई पुनः सोही गाउँमा बस्न दिने स्थानीयहरूसँग छलफल गरेको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन् । स्थानीय टोल विकास संस्थासहित सर्वपक्षीय भेला गराएर आफ्नै घरमा बस्न पाउने निर्णय गराएका हुन् ।