धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुई समूहले तत्काल पार्टीको आधिकारितासम्बन्धी विवाद नटुङ्ग्याएमा चुनाव चिन्ह ‘सूर्य’ नपाउने सम्भावना बढेर गएको छ ।
संसद् विघटनपश्चात् तोकिएको मध्यावधिको निर्वाचनमा दुवै पक्षले दाबी गर्दै आएको सूर्य चिन्ह नपाउने सम्भावना बढेर गएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको घोषणा गरेलत्तगै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको समय तोकेकी थिइन् । तर, पार्टीको आधिकारितासम्बन्धी विवाद हालसम्म सुल्झिन सकेको छैन । जसका कारण सूर्य चिन्ह कसले पाउने भन्ने विवाद कायमै छ । पार्टीको आधिकारितासम्बन्धी विवाद हल नभएमा सूर्य चिन्ह नै फ्रिज हुनेछ ।
दुवै पक्षले आयोगलाई हालसम्म जानकारी गराएको आधारमा आयोगले त्यसलाई आधिकारिता दिन सक्ने अवस्था नभएको आयोगले जनाएको छ । दुवै समूहले सूर्य चिन्ह दाबी गर्दै आएका छन् । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली समूहले पनि आधिकारिक नेकपा आफूहरू भएको दाबी गर्दै आएका छन् भने पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पनि नेकपा आफूहरू रहेको बताउँदै आइरहेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरूबीच दलको नाम, दलको छाप, विधान, झण्डा वा चिन्ह, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरूपण आयोगबाट हुने व्यवस्था छ । त्यसका लागि ३० दिनभित्र आयोगलाई उजुरी दिइसक्नुपर्छ ।