बिर्तामोड । केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन विरुद्ध नेपाली कांग्रेसले बिहीबार देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १९ को निर्देशन बमोजिम देशभर बिरोध प्रदर्शन भएको हो ।


बिरोधका कार्यक्रम अनुसार झापाका एकसय ३१ वटै वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न छ ।

विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी/सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय/प्रदेश क्षेत्रीय सभापति, गाउँ–नगर सभापति  तथा जिल्लाले वार्डमा खटाएमा प्रतिनिधिहरुले सम्बोधन गरेका छन् ।

अधिकांश विरोधसभाका बक्ताहरुले प्रधानमन्त्री के.पी. ओलीले संविधानमा संसद विगठनको प्रावधान नै उल्लेख नभएको बताउँदै असंवैधानिक कदमका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।


संविधानको धारा–७६ मा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने, विश्वासको मत प्राप्त नगरेको अवस्थामा बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउने , बहुमतीय प्रक्रियाबाट पनि सरकार गठन हुन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने ब्यवस्था रहेको छ ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विगठन गरेपछि नेपाली कांग्रेससहितका दलहरु अहिले सडक संघर्षमा उत्रिएका हुन् ।