ताप्लेजुङ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश कुमार भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताएका छन् ।
नेकपा विभाजन र एकताको लडाईमा रहे पनि पार्टीको एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पद र प्रचण्ढ–माधवले सत्ता प्रतिको लोभ त्यागे एकताको सम्भावना बलियो भएर जाने बताएका हुन् ।
प्रेश संगठन नेपाल ताप्लेजुङद्धारा शुक्रबार फुङलिङमा आयोजित कार्यक्रममा बोल्दै उनले भने–“नेकपा एकता हुने सम्भावना जिवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन, तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ ।”
एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद त्याग्नु पर्ने त्यस पछि पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्नुपर्ने र पार्टीका जोकोहि प्रतिनिधीसभा सदस्यलाई प्रधानमन्त्री बनाउने सर्तमा पार्टी एक हुने सम्भावना रहेको उनले बताए ।
“प्रधामन्त्री केपी ओलीलाई मेरो अनुरोध छ कि तपाईले ईतिहासमा एउटा निर्णय लिनै पर्छ, त्यो निर्णय तपाईका लागि कठोर हुन सक्छ तर मुलुकका लागि प्रीय हुन सक्छ, आफ्नालाई कठोर र मुलुकका निम्ति प्रीय हुने निर्णयका लागि लागि तपाईले पद त्याग गर्नुपर्छ, त्यो काम गर्नुहोस र त्यस पछि एकताको प्रकृया सुरु हुन्छ र नयाँ सम्भावना हामी खोज्छौ ।”–भट्टराईले भने ।
अस्पतालको बेडमा छटपटिरहेको नेकपालाई कुसल चिकित्सकको साथ लिएर उपचार गर्न सके चाँडै एकता हुन सक्ने र आगामी निर्वाचनमा पराजितको अवस्थाबाट नेकपा टाढै रहने उनले स्पष्ट पारे । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य भट्टराई गत फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरिक्षण तथा राहत वितरणका लागि गृहजिल्ला आएका हुन् ।