– राम प्रसाद (विद्यार्थी) चावेल, काठमाडौ
समय र परिस्थिति आपसमा एकअर्काका पूरक तत्वहरु हुन् । किनकि परिस्थिति समसामयिक वातावरणबाट सिर्जिएको स्थिति बताउँ भने समयले कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काम र बेलाको अवगत गराउँछ । त्यसैले हामीले यो कुरालाई केलाउनु आवश्यक छ कि, जो कसैले –व्यक्ति, समूह, संगठन आदि) केही चिजको ठाडो अध्ययन गर्दैमा असलखराबको बारेमा यकिन गर्न सक्दैन सब कुरा परिस्थितिमा निर्भर हुन्छन् । किनकि सबै चिजहरु परिस्थितिको उपज हो साथै सबै कुराहरु संयोगको नै फल हुन् ।
त्यसैले हामी यो भन्न चाहान्छौं कि नेपालका सम्पूर्ण बामपन्थी घटकहरु एक हुनु आजको अपरिहार्य आवश्यकता हो । साथै सबै नेपाली जनताको चाहना पनि हो । एकताका कारणबाट विगत ३० वर्षसम्म शासन गर्दै आएको तानाशाही पञ्चायती शासनको अन्त हुन गएको छ । यसरी आज पञ्चायतको अन्त हुनु नै एकताको उदाहरण बन्न गएको छ ।
यस्तै गरी नेपालका सम्पूर्ण बामपन्थी एक भएमा सम्पूर्ण नेपालको नै राजनीतिमा निर्णायक र प्रभावकारी भूमिका खेल्न कठिन पर्दैन । हामी सम्पूर्ण जनताको आवाज कम्युननिष्टहरुले नै देशको राजनीतिमा निर्णायक भूमिका खेलुन भन्ने छ । किनकि हाम्रो देश झण्डै ९५ प्रतिशत शोषित पीडित जनताको साझा चौतारी हो ।
तर दुःखको कुरा छ असोज २००६ सालमा औपचारिक रुपमा घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी आज विभिन्न चिरामा विभाजित छ । कम्युनिष्टहरुले देशको राजनीतिमा निणार्यक र प्रभावकारी भूमिका खेल्दै गएमा देशमा एकीकृत कम्युनिष्ट पार्टी बनाउन गाह्रो पर्दैन । हामी अधिकांश जनताहरु द्येशलाई नोकरशाही तानाशाहीबाट मुक्त दिन चाहान्छौं र यसका नेतृत्वको खोजीमा सधैं भौतारिरहेका छौं । तर सधैं नेतृत्वविहीन छौं । यी सबै कुरा कम्युनिष्टहरुको फुटको कारण हो ।
विगत ३० वर्षदेखि नै संगठित हुनै नदिने प्रजातान्त्रिक शिक्षा लागू गरी जनतालाई करबलले पञ्चायती अभ्यास गराइन्थ्यो । यसको कारणबाट पनि जनतालाई संगठित हुन गाह्रो परिरहेको थियो । तर यस्तो अवस्था आज छैन । यस्तो खुलेआम अवस्थामा पनि कम्युनिष्टहरुले एकतापट्टी नलागी संकीर्ण स्वार्थ र तुच्छ चाहानामा लागि आफू आफूमा खुट्टा तानातान गर्न पट्टी लागेमा नेपाल कम्युनिष्ट पार्टीको भविष्य अन्धकारमय हुन जान्छ र भरखरै प्राप्त भएको अधिकार पनि गुम्न सक्छ ।
नेपालमा विभिन्न कम्युनिष्ट पार्टीहरु आफू अरुभन्दा बेग्लै र मौलिक देखाउन कोही मार्क्स वादी हौं भन्दछन्, कोही मार्क्स –लेनिन हौं भन्दछन्, कोही मार्क्स , लेनिन, माओवादी हौं भन्दछन्, के मार्क्सले सिद्धान्त प्रतिपादन गर्दा विभिन्न कम्युनिष्टहरुको व्याख्या गरेका थिए त ? यो प्रश्नको उत्तर आजका बुद्धिजीविहरुले नै दिउन् । तिनै मार्क्सका सिद्धान्तका प्रतिपादक लेनिन हुन् । मार्क्सबाट लेनिनको जन्म भएको हो । मार्क्सले सिद्धान्त प्रतिपादन गरेका हुन् भने लेनिन र माओले व्यवहारमा ल्याएका हुन् । न त माओले मार्क्स सिद्धान्तलाई विभाजित गरे न त लेनिनले नै । तर दुःखको कुरा नेपालमा कम्युनिष्टहरु आफैं विभाजित भए । यो साह्रै दुःख लाग्दो र खेदपूर्ण कुरा हो ।
उहाँहरु यसरी चिनिनु हुन्छ,
कोही चीनको सांस्कृतिक क्रान्तिको आलोचना गर्ने देखिए भने कोही त्यही संस्कृति क्रान्तिका अनुयायी छन् । यी सांस्कृतिक क्रान्तिका अनुयायीहरुले ती आलोचकहरुलाई संशोधनवादी भन्ने नारा दिएर यिनीहरुलाई सिद्धान्तच्युत पारिसकेका छन् । पुँजीवादको बाटोतिर लागिसकेका छन् भनी रुसको परिवर्तनलाई औंल्याउँछन् ।
यसरी हामीले स्पष्ट रुपमा यो पाइसकेका छौं कि एकातिर एकथरी कम्युनष्टिहरु रुसको परिवर्तनलाई अस्वीकार गर्दछन् । एकथरी कम्युनिष्टहरु त्यही परिवर्तनलाई स्वीकार गर्दछन् । यो पनि कम्युनिष्ट एकतामा आँच आउनुको मुख्य कारण हो । उहाँहरु यो कारणलाई जनसमक्ष नल्याई जनताको एकीकृत आवाजलाई विभिन्न सैद्धान्तिक कारण र विचारधारा नमिल्ने जस्ता कुराहरु देखाई आफ्नै कारण देखाउँछन् ।
यो उहाँहरुको भविष्यसँग मेल नखाने आफ्नैपनको जिद्धी हो । यसले न उहाँहरुलाई फाइदा छ न त जनतालाई नै । यस्तो उहाँहरुको निजीपनले गर्दा उहाँहरुलाई यसरी हेर्नु पर्ला कि उहाँहरु त मार्क्स भन्दा पनि कट्टर र नयाँ वादका जन्मदाता नै जस्तो लाग्छ । होइन भने मार्क्सले कम्युनष्टि सिद्धान्तलाई खण्डखण्ड गरी छुट्याइदिएका त थिएनन् । साथै रुसले पनि नेपालको भाविष्य हेरेर आफ्नो परिवर्तन गरेको त होइन । यसैलाई सैद्धान्तिक मत मान्ने कुरा पनि आउँदैन । हामी नेपाली कम्युनिष्टहरुले आफ्नो खुट्टामा आफैं उभिन सक्ने हुनु नै आजको आवश्यकता हो । यसको लागि पनि कम्युनिष्ट एकताको ठूलो महत्व हुन जान्छ ।
उपर्युक्त आलेख २०४७ सालमा प्रकाशित एकता बुलेटिनबाट लिएको हो । नेपाली कम्युनिष्ट एकता प्रवर्धन मञ्चले प्रकाशित गरेको यो बुलेटिनको मिसन तत्कालीन वाम एकता गर्नुथियो । आनन्ददेव भट्ट, शंकर लयाल, शिवप्रसाद भट्टराई, ईश्वर रिजाल, कृष्णप्रसाद आचार्यलगायतको सम्पादनमण्डलले बुलेटिन प्रकाशित गरेको थियो ।
प्रकाशन मितिः वर्ष १ अंक ३÷४ संयुक्त २०४७ श्रावण, भाद्र, आश्विन