राज्य सत्ताले नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अनाहकमा थुन्ने र मुद्दा चलाउने षडयन्त्र गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् । 

सभापति देउवाले प्रहरी प्रशासनले समेत कम्युनिष्ट भएकै आधारमा अपराधीहरुलाई छाडा छोडिदिने तर नेपाली कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउने गरेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीमा आइज नत्र मुद्दा चलाइदिन्छु’ भन्दै कांग्रेसका नेता कार्यकर्तालाई फसाउने गरेको देउवाले आरोप लगाए । 

उनले यस्तो कुरा नसहने र  नछोड्ने बताए । सभापति देउवाले भने, ‘एउटा कुरा स्पष्ट भन्न चाहान्छु, उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन्, कुनै पार्टीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर उनीहरुको काम गर्न पाइन्छ, यसो भने छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं ।’

देउवाले थपे, ‘हामी कुनै हालतमा छोड्दैनौं । छोड्दैनौं, छोड्दैनौं, छोड्दैनौं ।’

देउवाले आक्रोष पोख्दै  छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं भनिरहँदा उपस्थित नेता कार्यकर्ताले तालीको गड्गडाहाटले स्वागत गरेका थिए । 

५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरानमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति देउवाले कांग्रेस नेता कार्यकर्तालाई गलत काम नगर्न, जनताको भावनाविपरीत काम नगर्न आग्रह गर्दै पार्टीका काममा दृढतापूर्वक लाग्न निर्देशन दिए ।