ब्लाष्टखबर । प्रदेश १ काे सातौं तथा हिउँदे अधिवेशन आज मध्य रातिबाट अन्त्य हुने भएकाे छ । माघ ७ गतेबाट सुरू भएकाे सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए ।
प्रतिपक्षी दलहरुले उठाउँदै आएका विषयमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूचि तय गरिएको भएपनि आजको बैठकमा सम्बोधन गर्न उपस्थित भएका मुख्यमन्त्री शेरधन राईले विपक्षी दलहरुको अवरोधका कारण सम्बोधन गर्न पाएनन् ।
शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।