पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ ।
दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन ।
शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर एक नेताले बताए ।
‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं ।
एकताका लागि हाम्रो प्रयास जारी रहन्छ,’ ती नेताले भने, ‘अबको १–२ दिनमा सकारात्मक परिणाम आउने गरी छलफल गर्छौ। कार्यदलले गरेको कामलाई कसरी कार्यान्यन गर्ने भन्नेमै हाम्रो छलफल हुन्छ ।’
एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो ।
स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन्। त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि थिएनन् ।
स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए। ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।