प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे सामुहिक धारणा बनाउन नेकपा एमाले माधव नेपाल समूह छलफलमा छ । छलफलमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे एमाले नेता भीम आचार्यले फरक धारणा राखेका छन् । 

‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’ नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता आचार्यले भने, ‘एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेका हुन् ।’

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । 

उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

विघटित कार्यदलका नेताहरूले नेपाल निवास कोटेश्वरमा पुगेर माधव नेपालसँग वार्ता गरेलगत्तै नेपाल पक्षको आन्तरिक बैठक बसेको हो । नेपाल निवासबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत संस्थापन पक्षका नेताहरू बाहिरिएका छन् ।

माधव नेपाल निवासनजिकै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । यता नेपाल निवासमा देउवालाई विश्वासको मत दिनेबारे माधव समूहका नेता छलफलमा छन् ।

माधव नेपाल लगायत २३ जनामध्ये अधिकांस सांसद विश्वासको मत दिनुपर्ने पक्षमा छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायत वार्ता टोलीमा रहेका नेताहरूले संस्थागत निर्णयमा जोड दिएका छन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।