भदौको प्रारम्भ नै चैत/वैशाखको जस्तो हुरहुरे बतास चल्न थालेपछि मैथिल बुढापाका पिरोलिन थालेका छन् । गत आइतबारदेखि महाेत्तरी जिल्लासहितका मधेस प्रदेशमा हुरहुरे बतास चल्दै आएको छ । लगातार साँझ बिहान यस्तो बतास चल्ने र दिउँसभरि प्रचण्ड घाम लागेपछि केही दिनभित्रै जमिन रुखिएर तात्नेक्रम बढेको छ । साउन नियाल्दो र भदौको प्रारम्भमै मौसममा देखिएको यो लक्षणले बुढापाका चिन्तित भएका हुन् ।
“भदौमा दिउँसभरि बादलले ढाकेर हप्प गर्मी भए साँझपछि पानी पर्ने परम्परागत मौसम लक्षणको अनुमान हो”, भङ्गाह नगरपालिका–४ रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो भन्छन्, “अचेल त चैत/वैशाखको जस्तो तातो बतास पो चल्दैछ , दुङदुङ धुलो उडाएर ।”
रामनन्दनको जस्तै बर्दिबास–९ पशुपतिनगरका ८४ वर्षीय नथुनी महतोको पनि धारणा छ । “बाबु , हामी तन्नेरी हुँदा बाबुबाजेले मौसमको अनुमानमै खेती लाउने गरेको सम्झना छ, तर अब ती मौसमका लक्षण तेती मेल भने खाँदैनन”, उन भन्छन्, “भदौमा बुङ्बुङ्ती धुलो उडेपछि यो राम्रो लक्षण चाहिँ होइन ।” भदौमा पूर्वउत्तर कोणमा कालो सघन बादल देखिएपछि पानी पक्का पर्ने भन्दै भोलिपल्टलाई त्यसअनुसारको तयारीमा बाजे लागेकाे सम्झना रहेको उनि बताउछन् । “अहिले त भदौमा सुनौला बादलका टुक्रा पो नाची रहेका देखिन्छन् ”, उनि भन्छन् ।
यसपाली असारयता बर्खा लागे जसरी पानी नै नपरेको यस भेगका सर्वसाधारणको भनाइ छ । “असारमा दुई/तीन पटक पानी पर्यो, त्यो पनि असार १५ अघिमात्र”, यसपालिको वर्षा सम्झँदै औरही नगरपालिकाको भोइलका किसान मोहन महतो भन्छन्, “अनि साउन मध्यताका एकाध दिन ।” पछिल्लो पटक साउन नियाल्दो गत शनिबार राति परेको पानीको चिस्यान यसयताको लगातारको तातो बतासले खङ्रङग सुकाएको यहाँका किसान बताउँछन् ।
भदौमा हुरहुरे बतास चल्नु सामान्यतया खडेरी हुनसक्ने लक्षण भएको कृषि विज्ञ भङ्गाहा–५ का बासिन्दा पूर्वसहसचिव रामबहादुर भुजेल स्वीकार गर्छन् । मौसमले देखाएको लक्षणअनुसार किसान ढलेर त्यसअनुसारका बाली लगाउन पर्ने उनको सल्लाह छ ।
“अब पानी पार्ने वैज्ञानिक प्रविधि हामीसँग नभएपछि त्यसैअनुसार के बाली लगाउन सकिन्छ, त्यता ध्यान दिने हो”, कृषि क्षेत्रको सरकारी सेवामा ३० वर्ष बिताएका उनि भन्छन्, “यस्तो मौसममा कम चिस्यानमा हुनसक्ने बाली लगाउन पर्छ ।” यस्ता बालीमा कोदो, मकै र तरकारीबाली मुख्य रहेका विज्ञको भनाइ छ । यद्यपि दुई÷चार दिनको मौसमको लक्षण बदलेर पानी पर्नसक्ने सम्भावना अझै रहने विज्ञ बताउँछन् ।
पछिल्ला केही दिनयताको लगातारको हुरहुरे बतास रोग फैलाउने कारण पनि हुनसक्ने बुढापाकाको भनाइमा चिकित्सक सहमत छन् । अहिले देखिएको मौसम स्वास्थ्यका दृष्टिले सावधानी अपनाउनुपर्ने नै रहेको बर्दिबास अस्पतालका चिकित्सक डा किशोर अधिकारी बताउछन् । “अहिलेको हुरहुरे बतासले छालाको एलर्जी बढाउने, हाडजोर्नी दुख्ने, मौसमी ज्वरो आउन सक्छ”, उनि भन्छन्, “मौसमअनुसारको सावधानी अपनाउन लापर्वाही हुँदा स्वास्थ्य समस्या बढ्न सक्छ ।”