धरान । धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकको विवादका कारण नगर अनिर्णयको बन्दी बनेको भन्दै नगरप्रमुख हर्कराज राईका समर्थकहरूले सोमबार भानुचौकमा प्रदर्शन गरेका छन् ।

नगरलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले कार्यपालिका बैठक सञ्चालन गर्न माग गरेका छन् ।

प्लाकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले ‘धरानलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन, कार्यपालिकाको बैठक अवरोध गर्न पाइँदैन’ लगायतका नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । पछिल्लो समयमा नगरप्रमुखको स्वेच्छाचारिता बढ्दै गएको भन्दै कार्यपालिका सदस्यहरूले विरोध गर्दै आएका छन् ।

गत असोज १३ गतेको नगर कार्यपालिका बैठकको क्रममा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राख्ने क्रममा उनलाई नगरप्रमुखको ‘बाहिर जानू’ भन्ने निर्देशनात्मक भनाइको विरोधमा वडाध्यक्षहरूले कार्यपालिका बैठक छाडेका थिए ।

यस विषयलाई लिएर प्रदर्शनमा संलग्नहरूले वडाध्यक्षहरू नै बैठक रोकिनुको प्रमुख कारक रहेको सङ्केत गरेका थिए । यसबीचमा धरानमा रहेका ६ वटा राजनीतिक दलहरूले पनि नगरप्रमुखको कार्यशैलीको विरोध गर्दै संवाद र छलफलमार्फत् समस्या समाधान गर्न आग्रह गरेका थिए ।

पुस १ गते नगरप्रमुख राईले पत्रकार सम्मेलन गर्दै वडाध्यक्षका कारण बैठक अवरुद्ध भएको र राजीनामा दिई बाटो खुल्ला गर्नका लागि चेतावनी दिएका थिए ।