भद्रपुर । झापामा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसोतिर बुद्धशान्ति गाउँपालिका–३ झिल्मिले पुलस्थित मेची राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–८ का अन्दाजी २१ वर्षीय योसन लिम्बूको मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडि सवार मोरङ बेलबारी नगरपालिका–४ की १७ वर्षीया लीला श्रेष्ठ घाइते भएकी छन् । को.२० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
घाइतेहरूलाई उपचारका लागि बी एण्ड सी हस्पिटल बिर्तामोड पठाइएकोमा योसन लिम्बूको उपचारको क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक इलाम रोङ गाउँपालिका–४ का ३३ वर्षीय डिल्लीबहादुर लेप्चालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापामा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझतिर मेचीनगर नगरपालिका–२ त्रिमार्गचोकस्थित भित्री सडक–खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे.१ ह ७१५३ नम्बरको अटोले पैदलयात्री सोही ठाउँका ६० वर्षीय रविलाल दनुवारलाई ठक्कर दिएको थियो ।
दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो । तर, उपचार हुन सम्भव नभएपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषित गरेको डिएसपी पाठकले जनाए । दुर्घटनापछि अटो र अटो चालक मेचीनगर–८ का ४० वर्षीय भूपाल बास्तोलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।