विजयपुर । प्रदेश नं. १ मा सवारी दुर्घटना हरेक वर्ष वृद्धि भइरहेको छ । १ नं. ट्राफिक प्रहरी कार्यालय इटहरीको त्रिवर्षीय तथ्याङ्कले सवारी दुर्घटना बढेको देखाएको हो ।
कार्यालयका अनुसार सबैभन्दा बढी ९० प्रतशित दुर्घटना मानवीय कारणले भएको छ भने सडक प्रयोगकर्ताका कारणले १२ प्रतिशत र अन्य कारणले २ प्रतिशत दुर्घटना भएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७८ मा ३ हजार १ सय ३१ वटा सवारी दुर्घटना भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८ सय २० सवारी दुर्घटना भएको थियो भने चालु आर्थिक वर्षको पुसम्म १ हजार ६ सय ७५ वटा सवारी दुर्घटना भइसकेको छ ।
विगत वर्षका तुलनाका चालु आर्थिक वर्षमा भने ७ दशमलव ४ प्रतिशतले कमी आएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले बताए । उनका अनुसार जनचेतनाका कारणले सवारी दुर्घटना न्यूनीकरण भएको हो । उनले ट्राफिक नियमको पालना नगर्नाले पनि धेरै दुर्घटना भएको बताए । उनले भने, ‘ट्राफिक नियम जानकारी नभएर भन्दा पनि पालना नगरेर दुर्घटना भएको छ । नियम पालना नगर्नेहरूमा शिक्षित व्यक्तिहरू नै बढी पाइन्छन् ।’ कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ३२ जनाको मृत्यु भएको थियो भने २०७७/०७८ मा ४ सय ४४ र २०७८/०७९ मा ५ सय ३१ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको पुससम्ममा भने १ सय ९५ जनाको मृत्यु भइसकेको छ । विगत वर्षमा भएको मृत्युको अनुपातसँग तुलना गर्दा १९ दशमलव ४ प्रतिशतले मृत्युमा पनि कमी आउने कार्यालयले जनाएको छ ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा गम्भीर घाइते ७ सय ९१ जना, २०७७/०७८ मा १ हजार ८३ जना घाइते भएका थिए भने २०७८÷०७९ मा १ हजार २ सय ३ जना गम्भीर घाइते भएका थिए । चालु आर्थिक वर्षको हालसम्म ४ सय २ जना घाइते भएका छन् । विगत वर्षका दुर्घटनासँग तुलना गर्दा भने ३३ दशमलव २ प्रतिशतले कमी आउने ट्राफिक प्रहरीको प्रक्षेपण छ ।
दुर्घटनाको प्रमुख कारण मानवीय देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कअनुसार १ हजार १ सय ५२ दुर्घटना मानवीय कारणले भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा १ हजार ९६ दुर्घटना मानवीय कारणले भएको थियो । यस्तै यान्त्रिक कारणले २०७८/०७९ मा ३८ र २०७९/०८० मा ४० वटा दुर्घटना भएका थिए । सडकको अवस्थाका कारणले २०७८/०७९ मा ६९ र २०७९/०८० मा ५९ वटा दुर्घटना भएका थिए । मौसमका कारणले २०७८/०७९ मा १३ वटा र २०७९/०८० मा १३ वटा दुर्घटना भएका थिए । चौपायाका कारणले आर्थिक वर्ष २०७८÷०७९ मा १५ र २०७९/०८० मा २३ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कुल २ हजार ९ सय ६९ दुर्घटनामध्ये तीव्र गतिका कारणले १ हजार ८ सय ३५ (५३.१ प्रतिशत) दुर्घटना भएको ट्राफिक प्रहरी बताउँछ । यस्तै ट्राफिक नियम उल्लङ्घनबाट ३ सय ७०, मादक पदार्थ सेवनबाट ३ सय ३५, लाइसेन्स नभएका २ सय ७२, ओभरटेक १ सय ४८, चालक निदाएर ५, ढोका खुल्ला गरेका कारण २ वटा दुर्घटना भएका थिए । सडक प्रयोगकर्ताका कारणमध्ये सबैभन्दा बढी बाटो काट्दा ३ सय ८१, ओर्लंदा २०, चढ्दा ८, झुण्डिएर यात्रा ६, छतमा यात्रा २, शरीर बाहिर निकाली यात्रा गर्दा १ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जम्मा ४ सय ४२ र कारण नखुलेको ६८ दुर्घटना भएको देखिन्छ ।
सवारी साधनमा भने सबैभन्दा बढी दुर्घटना मोटरसाइकल भएको तथ्याङ्कले देखाएको छ । ५ हजार ६ सय ९० दुर्घटनामध्ये ३ हजार २ सय ३८ अर्थात् ५७ प्रतिशत दुर्घटना मोटरसाइकलको भएको छ । यस्तै ई–रिक्सा, अटो, टेम्पो १६.४ प्रतिशत, कार जिप १०.८ प्रतिशत, ट्रक, टिपर ट्याङ्कर ५.८ प्रतिशत, ट्याक्टर, डोजर ४.७ प्रतिशत, बस माइक्रो ४.४ प्रतिशत र अन्य ०.९ प्रतिशत दुर्घटना भएको तथ्याङ्क रहेको छ ।