इनरुवा । इनरुवाका नगरप्रमुख केदार भण्डारीले जनतासँग नगरप्रमुख कार्यक्रमको थालनी गरेका छन ।
वडामै पुगेर जनताका पिरमर्का बुझ्नुका साथै समस्या तथा गुनासा पहिचान गरी सम्बोधन गर्ने उद्देश्यकासाथ सुरु सो कार्यक्रम इनरुवा–७ चाँदबेलाबाट थालनी गरिएको हो । वडावासीका साथै विभिन्न दल आबद्ध व्यक्तिसहित सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा सहभागीले नगरप्रमुख समक्ष खुलेर धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीका तर्फबाट बाटोघाटोको समस्या, स्वास्थ्य, शिक्षामा सुधारको खाँचोजस्ता विषय प्राथमिकताका साथ उठान गरिएका थिए । जनप्रतिनिधिको अघिल्लो ५ वर्षे कार्यकाल वडानम्बर ७ को सवालमा उपलब्धिहीन बनेको अधिकांश सहभागीको ठहर थियो । उनीहरूले आशातित उपलब्धि हातपार्न नसकिएको विगतको भोगाइ पुनः नदोहोरियोस् भन्ने चाहना मेयर भण्डारीसमक्ष राखेका थिए ।
खुलारूपमा चौतारोमा आयोजित जनतासँग नगरप्रमुख कार्यक्रमका अगुवा सहभागीहरूले चाँदबेलाको विगतको इतिहास बिर्सन नहुनेमा जोड दिए । उनीहरूले सम्पदा मासिँदै गएको र अतिक्रमणको चपेटामा परेकोतर्फ नगरप्रमुखको ध्यानाकर्षण गराए ।
कार्यक्रममा हिन्दु र मुस्लिम समुदायको बसोबास रहेको चाँदबेलालाई समावेशीसहितको नमुना वडा बनाएर विकास निर्माणका कार्यमा सँगसँगै अघि लैजानु पर्नेमा जोड दिइयो । कार्यक्रमका सहभागी वक्ताहरूले नगरप्रमुख स्वयम्ले तदारुकताका साथ लिएर स्थानीय समस्या पहिचान गरी सम्बोधन गरेर अघि लैजान आवश्यक रहेको बताए ।
मेयरले राम्रो कार्यको थालनी गरेको प्रतिक्रिया जनाएका वडावासीले जनअपेक्षाअनुसार अघि बढ्न सके वडाको विकास सम्भव रहेको बताए । कार्यक्रममा उठेका स्थानीयका गुनासा, जिज्ञासा र समस्यालाई नगरप्रमुख भण्डारीले सम्बोधन गरेका थिए ।
उनले आफ्नो कार्यकाल जनताको हितकेन्द्रित रहने बताउँदै जनअपेक्षा विपरीतका कुनै पनि कार्य नगरमा हुन नदिने प्रतिबद्धता जनाए । उनले सबै वडाको समुचित विकासलाई ध्यानमा राखेर नगर योजना तय गरी अघि बढ्ने बताए ।