विराटनगर । सवारी दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा संसद् सचिवालयका अधिकृत तथा सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
धरानबाट विराटनगरस्थित संसद् सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को.३८ प ५३८७ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बूढीगङ्गा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।