भद्रपुर । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ सैनिक बजार बस्ने रञ्जीत राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी र बिर्तामोड–४ परोपकार टोलमा डेरा गरी बस्ने जागिर आलम रहेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ । उनीहरूका साथबाट एक थान तीनपाङ्ग्रे अटोसहित चारवटा मोटरसाइकलसमेत बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई सोमबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीका सामग्रीसहित सार्वजनिक गरिएको हो । पक्राउ परेकामध्ये तीनजना राजवंशी एकाघरका दाजुभाइ हुन् । आलम भने ग्यारेज सञ्चालक रही चोरीका मोटरसाइकल बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट मे. १ ह ४८९६ नम्बरको अटो, मे. ८, प २११६ नम्बरको एभेन्जर मोटरसाइकल, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र मे. ९ प ३६१८ नम्बरको पल्सर मोटरसाइकल र मे. ९ प ८६३० नम्बरको मोटरसाइकल बरामद गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

सिसी टिभी फुटेजको आधारमा अनुसन्धान अगाडि बढाएको घटनामा अटोसहित २६ वर्षीय प्रदिप राजवंशीलाई पक्राउ गरिएको श्रेष्ठले बताए । चोरीमा संलग्न एकजना फरार रहेकाले उनको खोजी कार्य तीव्र बनाइएको उनले जानकारी दिए ।