भद्रपुर । झापाको पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो मुलुकबाट भित्रिएका तीनवटा मालवाहक (कन्टेनर) आइतबार साँझ झापाको बिर्तामोडबाट प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले नियन्त्रणमा लिएर चेकजाँच सुरु गर्यो । 

भारतबाट काँकडभिट्टा हुँदै नेपाल आएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरहरूलाई प्रहरीले आइतबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रणमा लिएको जनाएको छ । टोलीले कन्टेनरहरूमा ३ करोड ६१ लाख बराबरको धान काट्ने मेसिनका सामान रहेको जनाएको छ ।

चेकजाँच गर्दा भन्सार प्रज्ञापन–पत्रभन्दा बढीका कृषि औजार कन्टेनरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी एवम् इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए । करिब ३ करोड ६१ लाख बराबरको सामान कन्टेनरमा फेला परेकोले उक्त सामान तथा कन्टेनरहरूलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए । 

सामान बरामद भएको विषयमा मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले ती सामान अवैध नभएको दाबी गरे । भन्सार तिरेर नियमसम्मत पास भएको उनले जनाए ।