धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको गस्ती टोलीले धनकुटा नगरपालिका–४ बाट आइतबार चिलाउनेको अवैध चिरान काठ बरामद गरेको छ ।
धनकुटा–४ स्कुलडाँडास्थित शीलढुङ्गा वन क्षेत्रमा पर्ने धनकुटा–हिले सडक–खण्डबाट चेकजाँचको क्रममा चिलाउने जातको चिरान काठ दलिन ९३ थान, बटम १८ थान र तख्ता ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए । उनले को.२ च १५०३ नम्बरको पिकअप गाडीमा कागजपत्र र बिल भर्पाइ विना चिलाउनेको चिरान काठ मूलघाटतर्फ लाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ गरिएको बताए ।
सवडिभिजन वन कार्यालय कागतेका वन अधिकृत पदम खड्काले बरामद भएको चिलाउनेको चिरान काठहरू विभिन्न साइजको रहेको बताए ।
बरामद गरेर ल्याएको र डिभिजन वन कार्यालय धनकुटामा मुचुल्कासहित बुझाएपछि आवश्यक अनुसन्धान भैरहेको वन अधिकृत खड्काले बताए । उनले बरामद काठको आवश्यक कागजात नपुगे वन ऐनबमोजिम कारबाही हुने बताए । उनले अवैधरूपमा काठ बोकेर सहिदभूमि गाउँपालिका–७ साप्तिङटारतर्फ जाँदै गरेको पिकअप गाडीका चालक ३२ वर्षीय प्रेमकुमार राई, सह–चालक रुद्रमान राईलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको बताए ।
यता काठधनी सहिदभूमि गाउँपालिका–७ साप्तिङटार घर भएका लाखमान राईले आफूले धनकुटा–३ कागतेका बाबुराम मिश्रको काठ मिलबाट ५३ हजारमा काठ खरिद गरेर ल्याएको बताए । उनले ब्लाष्टलाई भने, ‘आफूलाई काठ मिलबाट खरिद गरेबापत बिल दिएनन् ।’ आफूलाई चिलाउनेको काठ खरिद गर्दा बिल चाहिन्छ भन्नेसमेत थाहा नभएको राईले बताए । उनले घर बनाउनका लागि काठ खरिद गरेको बताए । राईले आफू मिल सञ्चालक बाबुराम मिश्रको कारण प्रहरीको फन्दामा परेर दुःख पाएको बताए ।