भद्रपुर । चोरीमा संलग्न तीनजना पक्राउ भएको प्रहरीले जनाएको छ । 

झापाको बिर्तामोडमा शृङ्खलाबद्ध चोरी भइरहेको अवस्थामा संलग्नहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड–७ का २७ वर्षीय दीपेश खवास, ४ का ३५ वर्षीय पवन चौधरी र मेचीनगर नगरपालिका–१० धुलाबारीका ३३ वर्षीय आशिष श्राप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरणअनुसार करिब एक महिनाअघि बिर्तामोड–४ की कमला कार्कीको घरबाट लाखौँको धनमाल चोरी भएको थियो । गत वैशाख १५ गते कार्कीको घरको मूल ढोकामा लगाएको ताल्चा फोडेर कोठाभित्र रहेको दराज फुटाई दराजको सेफ र लकरमा राखेको नगद तथा ढिका सुन–५ तोला, पाँच तोला आठ आनी सुनबाट तयार गरिएको सुनका गहनाहरू ब्रास्लेट एक थान, दुई थान सिक्री, दुई थान एक तोला आठ आनीको सुनको औँठी, एक थान चार आनी सुनको चन्द्रमा र तीन तोला सुनबाट तयार गरिएको सुनका गहनाहरू एक थान चोकर, ७ थान लकेट गरी कुल २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

चोरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । त्यसक्रममा बिर्तामोडका खवासलाई नियन्त्रमा लिई सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चासमेत फुटाई सुनको गहना चोरी गरेको स्वीकार गर्दै सो गहना बिर्तामोडकै चौधरीलाई बिक्री गरेको बताएका थिए ।

त्यसपछि चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उनले दीपेश खवाससँग खरिद गरेको गहना मेचीनगर नगरपालिका–१० धुलाबारीका श्रापलाई बिक्री गरेको खुलेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए । श्रापले सञ्चालन गर्दै आइरहेको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ पोइन्ट सुन फेला परेको उनले जनाए । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । चोरीका अन्य घटनाका बारेमा पनि खोजी भइरहेको डिएसपी खड्काले जानकारी दिए ।