धरान । मोरङ र सिरहाबाट प्रहरीले भारी परिमाणमा गाँजा बरामद गरेको छ । मोरङको कटहरी गाउँपालिकाबाट हालसम्मकै सबैभन्दा बढी परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ट्रकमा लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन हजार एक सय ५० केजी गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आइतबार बिहानको राति करिब पौने एक बजेतिर मोरङको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट प्रहरीले ट्रकसहित गाँजा बरामद गरेको हो । प्रहरी चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को.१ ख ४५१८ नम्बरको ट्रकलाई जाँचका लागि रोक्न खोज्दा प्रहरीलाई देखेपछि रोकेर चालक भागेको प्रहरीले जनाएको छ । ट्रक जाँच गर्दा बन्दाकोपीभित्र लुकाएको अवस्थामा एक सय पाँचवटा बोराबाट प्याक गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि सब्जीको मुनि हालेर गाँजा लैजाँदै गरेको अवस्थामा सुनसरीको धरान र पानीपिया साथै मोरङबाट गाँजा बरामद गरिएको थियो । प्रहरीका अनुसार बरामद गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उद्गार मलाह हुन् । उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा लागूऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९ सय २५ ग्राम गाँजा फेला पारेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए । फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।