ओलखढुङगा/ यसवर्षको लामो खडेरीका कारण ओखलढुंगाका २० गाविसका खेतबारी बाँझै रहेका छन् । पानी नपरेपछि किसानले मकै रोप्न नपउँदा खेतबारी बाँझै भएका हुन् । चैत पहिलो हप्ताबाटै मकै छर्ने तयारीमा रहेका किसान वैशाख अन्तिम हप्तामा पनि पानी नपरेपछि चिन्तित बनेका छन् । ओखलढुंगाको रुम्जाटार, सिस्नेरी, बलखु, टोक्सेल, माधवपुर, थाक्ले, भदौरे, तलुवा, उँबू, दियाले, कुइभीर लगायतका २० गाविसका किसानले यसवर्ष मकै रोप्न नपाएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । अघिल्ला वर्षमा यतिबेला जोत्ने बेला भइसक्ने मकै यसवर्ष किसानले रोप्न नपाएको बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मकै रोप्न नपाएपछि यहाँका किसान चिन्तामा छन् । बारीमा मलसमेत बोकी सकेर तयारी अवस्थामा रहँदा पनि पानी नपरेर मकै छर्न नपाउँदा अर्को साल खाद्यन्न संकट आउने चिन्ताले सताएको रुम्जाटारका किसान देशमाया राईले बताउनुभयो । केही दिनयता सामान्य वर्षा भएपनि पूर्वी र दक्षिणी क्षेत्रका २० गाविसमा नपरे पछि मकै छर्न नसकिएको किसानहरुले बताएछन् । यसवर्ष ओखलढुंगामा ४० प्रतिशत बारीमा मकै छर्न नसकिएको जिल्ला कृषि कार्यालयको अनुमान छ । मकै छरिएको क्षेत्रमा पनि लामो खडेरीका कारण मकै सुक्न थालेको छ । जिल्लाका अधिकांश क्षेत्रमा यसवर्ष कमै कम मात्रामा उम्रिएको र उम्रिएको मकै पनि खडेरीका कारण नष्ट हुन थालेको कृषि कार्यालयले जनाएको छ । खडेरीका कारण यसवर्ष ओखलढुंगामा उत्पादन समेत घट्ने भएको छ ।