इटहरी / नेकपा एमाले इटहरी उपमहानगर कमिटीले उपमहानगरपालिका कार्यालयका काम र विकास निर्माणका काम प्रभावकारी बनाउन माग राख्दै उमपामा ज्ञापनपत्र बुझाएको छ । एमाले उमपा कमिटी अध्यक्ष रेवती घिमिरेले दश बुँदे माग तथा सुझाव र २० बुँदे माग राखी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । इटहरीको मुख्य समस्याका रुपमा रहेको शेहरा खोला तटबन्धनलाई उच्च प्राथमिकतामा राख्न, घरनक्सा मापदण्ड व्यावहारिक बनाउन, सञ्चालित योजना ३/३ महिनामा सार्वजनिक गर्न र बिग्रिएका सडक तुरुन्त मर्मत गर्न माग गरिएको छ । यस्तै, नगरभित्र रहेका सार्वजनिक, पर्ति र ऐलानी जग्गाको खोजी संरक्षण गर्न, इटहरी सडक पारलाई वैकल्पिक व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । फोहोर मैलाको उचित व्यवस्थापन गर्न, कान्जी हाउस व्यवस्था गर्न, पिछडिएका बस्तीमा पूर्वाधार तयार गर्न र इटहरी स्वच्छ खानेपानी कार्यक्रम तर्जुमा गरी नगरका सबै क्षेत्रमा खानेपानी बिस्तार गर्न पनि माग गरिएको छ । साथै इलाका प्रहरी कार्यालयको जग्गा खोजी गरी आधुनिक कार्यालय भवन निर्माणको लागि पहल गर्न, इटहरी क्षेत्रमा बग्ने नदी र खोल्साहरुको व्यवस्थापन गर्न पनि माग गरिएको छ । यस्तै नगरमा युवा मैत्रीपार्क, बालमैत्री र वृद्ध मैत्रीपार्क निर्माण गर्न पनि एमालेले माग गरेको छ ।
सुझावका रुपमा कार्यालय व्यवस्थापनका सिद्धान्तहरु अवलम्बन गरी कार्यसम्पादन कार्ययोजना तयार गरी कार्यान्वयन गर्न, अभिलेख दुरुस्त राख्न, सूचना प्रणाली लागू गर्न र आन्तरिक राजश्व र वित्तीय व्यवस्थापन कमजोर देखिएको भन्दै आवश्यक सुधार गर्न पनि एमालेले सुझाव दिएको छ ।