samman

बिर्तामोड/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले ब्लाष्टकर्मीसहित छजना पत्रकारलाई सम्मान गरेको छ ।सङ्गठनले ब्लाष्ट टाइम्स दैनिकका बिर्तामोड सम्वाददाता प्रेम आचार्य र व्यवस्थापक उद्धव पुरी तथा पत्रकार उमाकान्त खनाल, दीपेन्द्र पौडेल, टीकाराम उप्रेती र झुलन रेग्मीलाई सम्मान गरेको हो ।
सङ्गठनले आयोजना गरेको पाँचदिने उद्घोषण तथा पत्रकारिता तालिमको बिहीबारबिर्तामोडमा आयोजित समापन कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले उनीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
सङ्गठनका जिल्ला अध्यक्ष रवि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरिया लगायतले बोलेका थिए । सोही अवसरमा उत्कृष्ट समाचार लेख्ने प्रशिक्षार्थी केशव तिवारी, विलक्षणा भट्टराई र गीता खतिवडालाई पुरस्कृत गरिएको थियो । सङ्गठनका जिल्ला उपाध्यक्ष कुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सङ्गठनका १ नम्बर प्रदेश संयोजक महेन्द्र भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र सुवेदी लगायत उपस्थित थिए । तालिममा जिल्लाका विभिन्न क्याम्पसबाट ९६ जना सहभागी थिए ।