१३ दिनसम्म लगातार ओरालो लागेर फर्किएको बजार तिब्र गतिमा उकालो लाग्न थालेको छ । तत्काल तलबाट बजार माथि लागे पछि तल्लो विन्दुमा सेयर बेचेकाहरु अहिले जिल्ल परेका छन् । अहिले दैनिक रुपमा कारोबार रकमले पनि बजारलाई साथ दिइरहेको छ ।

बजार उतारचढावका बेला धैर्य हुन नसक्दा नोक्सान धेरै हुन्छ भन्ने कुरालाई पछिल्लो पटकको उतारचढावले प्रष्ट पारेको छ । तिब्र रुपमा तल झरेको बजारमा सेयर बेच्नेहरु नोक्सान व्यहोर्न बाध्य भए भने त्यस बखत सेयर किन्नेहरु अहिले राम्रो नाफाको अवस्थामा उक्लिएका छन् ।

मंगलबार मात्र बजार सुचक नेप्से २५.१४ अंकले बढेर १५१६.०२ अंकमा उक्लिएको छ । कारोबारमा आएका अधिकांस कम्पनीको सेयर मूल्य माथि चढे पछि बजार तिब्र गतिमा उकालो लागेको हो । बजार खुलेको २ घण्टामा १५२१ अंकसम्म पुगेको बजार फेरी केही सुस्त बनेर उकालो लागेको थियो ।

मंगलबार १६५ कम्पनीहरुको सेयर किनबेच भएको छ । १८ लाख ४७ हजार ७५५ कित्ता सेयरहरु ७ हजार २८५ पटक किनबेच हुँदा ७५ करोड ११ लाख ६७ हजार रुपैंयाको कारोबार भएको छ । बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ४ करोड रुपैंयाले बढेको हो ।

बजार २५ अंकले बढ्दा बजार पूँजीकरणमा पनि व्यापक सुधार देखिएको छ । अघिल्लो दिन १७ खर्ब ३० अर्ब ७८ करोड रुपैंया रहेको पूँजीकरण मंगलबार १७ खर्ब ५९ अर्ब ९८ करोड कायम भएको छ । एक दिन बजार बढ्दा पूँजीकरण झण्डै ३० अर्ब रुपैंयाले बढेको हो ।

मंगलबार सबै सुचकहरु उकालो लागेका छन् ।

चिलिमे जलविद्युतको सेयरमा अधिक कारोबार चाप देखिएको छ । ६ करोड रुपैंयाको कारोबार चिमिमेमा हुँदा प्रभु बैंक संस्थापक सेयर, प्राइम बैंक, स्टाण्डर्ड चार्टर्ड, टेलिकम, सगरमाथा इन्स्योरेन्स लगायत कम्पनीमा अधिक कारोबार चाप देखिएको छ । सगरमाथा इन्स्योरेन्सले पूँजी योजना अनुसार लाभांस बितरण नगर्ने सुचना सार्वजनिक गरे पछि सेयर बेच्नेको भिड लागेको थियो ।

अधिक कमाउनेको सूचीमा साना तथा मझैला कम्पनीको वर्चस्व देखिएको छ ।

सगरमाथा इन्स्योरेन्स अधिक गुमाउनेको सूचीमा पहिले स्थानमा छ । प्रभु बैंक संस्थापक सेयरको पनि भाउ तल झरेको छ । कारोबारमा आएका १६५ कम्पनी मध्ये १५ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । बाँकी १५० कम्पनीको सेयर मूल्य बढेको हो ।

अब चुनावी सरगर्मी सुरु भएसँगै बजारमा सकरात्मक असर परेको आँकलन गरिएको छ । अझ चुनावमा खर्च भएको पैसा बजारमा भित्रिने भएकाले बजार अझै सुधारको बाटोमा जाने देखिन्छ ।