उदयपुर/ उदयपुरको मझुवा बाराहा खानेपानी योजनाको पाइप घामले पग्लिएर कामै नलाग्ने भई खुम्चिएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ बाराहामा निर्माणाधीन योजनाको पाइप रुखमा बाँधेर टाँगेको ठाउँमा घामले पग्लिएको हो ।
खानेपानीको समस्या समाधान गर्नका लागि जिल्ला खानेपानी कार्यालय उदयपुरबाट प्राप्त योजनाको पाइप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका–३ का वडासदस्य गुरुमणि कुमाईले बताए ।
पञ्चवर्षीय योजनामार्फत् २०७२ सालमा ८८ लाखको सम्झौता गरी काम शुरु गरेको थियो । योजनाको काम चालू आर्थिक वर्ष २०७६÷७७ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भएको सदस्य कुमाईले बताए । उक्त योजनाको ५० एमएमको पाइप रुखमा बाँधेर टाँगिएको ठाउँमा घामले पग्लेको उनले बताए ।
माटोमा गाड्नु पर्ने भए पनि ठाउँ–ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा करिब १ सय ५० मिटर जति कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाईले बताए । ‘पाइप घामले पग्लेको भन्ने कुरा कतै सुनेको थिइनँ तर आफ्नै आँखाले देख्न पाएँ, त्यो पनि आफ्नै ठाउँमा पत्याउनै नसकिने घटना भएको छ’–उनले भने ।
मुहान करिब ९ किलोमिटरको दूरीमा रहेको योजनाको २२ धारा स्टिमेट रहेको मझुवा बाराहा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुलदीप खत्रीले बताए । गत असार अन्तिमको अविरल वर्षाले सालथुम्की खानेपानी योजना अवरुद्ध गरेपछि जनप्रतिनिधि र उपभोक्ता समितिको अनुरोधमा केही बाँकी रहेको पाइप दिएर पठाएको अध्यक्ष खत्रीले बताए ।
गाउँमा पानी अवरुद्ध भएपछि वडाध्यक्षले नै केही समयमा नयाँ पाइप किनेर दिने शर्तका साथ राम्रो पाइप दिएर पठाएको एक हप्ता नबित्दै घामले पग्लेको भन्ने सुन्नमा आएको अध्यक्ष खत्रीले बताए । उपभोक्ता समितिले ट्याङ्कीको लागि आवश्यक सिमेन्ट र रड मात्र खरिद गर्न पाउने भएकाले बाँकी सामान खानेपानी कार्यालय आफैले खरिद गरेर पठाउने गरेको उनले बताए ।
‘हामीलाई तीन प्रकारको पाइप खानेपानीले उपलब्ध गराएको थियो । १० केजी, ६ केजी र अढाई केजीको पाइप पठाएकोमा अहिले अढाई केजीको पाइप पग्लेको छ’–अध्यक्ष खत्रीले भने । उपभोक्ता समितिलाई खन्ने, पुर्ने र ट्याङ्की बनाउने काम मात्रै भएको उनले बताए ।
अहिलेसम्म ११ वटा धारा, रिजर्भ ट्याङ्की निर्माण र पाइपलाइन विस्तार भएको छ । ट्याङ्कीबाट धाराहरूमा शाखा विस्तार र ११ वटा धारा निर्माणको काम बाँकी रहेको छ । विकट पहाडीभेगमा सामान पु¥याउनुपर्ने भएकाले ढुवानीमा समस्या आएको अध्यक्ष खत्रीले बताए । सडक अवरुद्ध हुँदा समयमा सामान ढुवानी गर्न नसकिएकाले भनेको बेला काम गर्न नपाएको उनले बताए ।
८८ लाखको सम्झौतामध्ये सिमेन्ट, रड खरिद र ढुवानीको लागि चार किस्तामा २२ लाख भुक्तानी भइसकेको अध्यक्ष खत्रीले बताए । अरू बाँकी बजेट पाइप खरिद, धारा, टुटी खानेपानी कार्यालय आफैले खरिद गर्ने भएकाले आफूलाई केही थाहा नभएको उनले बताए ।
खानेपानीको पाइप नै घामले पग्लिनाले स्थानीयबासीले खानेपानीको चरम लापरबाही भएको आरोप लगाएका छन् । पाइप पग्लेर काम नलाग्ने गरी चेप्टिएको स्थानियबासीले बताए । एक जिम्मेवार निकायले नै कमसल सामान खरिद गरी उपभोक्तालाई दिनुमा जिम्मेवार निकायको कमजोरी रहेको स्थानीयको आरोप छ ।