वराहक्षेत्र/लकडाउनका कारण बागलुङका २० वर्षीय कृष्ण तामाङ सुनसरीको वराहक्षेत्रको चतरामा बिचल्लीमा परेका छन् ।
बागलुङ ७ नम्बर वडा बताउने कृष्णले सौतेनी आमा अनिता चौधरीले खुट्टाको स्टिल निकालिदिने भन्दै लकडाउनको दुई दिनअघि ल्याएर छाडिदिएको बताए । उनले आफूलाई कहाँ ल्याएर छाडिएको थियो भन्ने पनि थाहा नभएको बताए । उनलाई चतरा घर भएमा व्यक्तिले मोटरसाइकलमा चतराको स्वास्थ्य केन्द्र अगाडि छाडेर हिँडेका थिए ।
स्वास्थ्य केन्द्र अगाडि अपरिचित व्यक्ति देखिएपछि चतराको प्राथमिक स्वास्थ्य केन्द्रले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरेको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ (संक्रमण नभएको) आएको डाक्टर अमित थापाले जानकारी दिए । उनलाई शुक्रबार साँझ ५ बजेतिर स्वास्थ्य केन्द्रको गेटबाट उद्धार गरिएको छ । लकडाउनपछि भौतारिँदै चतरा आइपुगेका उनी हाल कहाँ जाने भन्ने समस्यामा परेका छन् ।
यस विषयमा स्थानीय तह र प्रहरीलाई जानकारी गराएको भए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको डाक्टर थापाले जानकारी दिए । कृष्णले आफू घर जान चाहेको बताएका छन् ।