धरान । आजदेखि लकडाउनमा जारी गरिएका जिल्लाभित्रैका सवारी पाससमेत रद्द गरिएको छ ।

लकडाउनको समयमा जिल्ला प्रशासनमार्फत् प्राप्त गरेको सवारी पासहरू आजबाट रद्द गरिएको हो । नेपालमा कोरोना संक्रमित बढ्दै गएको पाइएपछि गृह मन्त्रालयले जिल्लाभित्र आवागमनका लागि अनुमति प्रदान गरेको पासहरू रद्द गर्ने निर्देशन दिएको थियो । निर्देशन भएलगत्तै शनिबारबाट लागू हुने गरी यसअघि सूचना जारी गरिएको थियो । गृह मन्त्रालयले शुक्रबार उक्त निर्देशन दिएपछि एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि अनुमति प्रदान गरिएको पासहित जिल्लाभित्रकै पास पनि रद्द गरिएको छ ।

नेपालमा हालसम्म २६७ जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण फेला परेका छन् । अतिआवश्यक कामको हकमा मात्रै सवारी पास दिने गरी प्रबन्ध मिलाइएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा कारणसहितको निवेदन दिनुपर्ने उल्लेख गरिएको छ । प्रशासनका प्रमुख जिल्ला अधिकारीले निवेदनउपर उपयुक्त कारण देखेमा मात्रै पास दिने भएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जाँदा जान लागेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि सूचित गर्दै पूर्वस्वीकृति लिनुपर्ने प्रावधान बनाएको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने जनाइरहेका बेला यस्तो नीतिले थप समस्या हुने देखिएको छ ।