भद्रपुर । दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ७ का अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार शनिबार साँझ घर नजिकैको दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ । यसअघि पनि कचनकवलमा हात्तीको आक्रमण परी एक जनाको मृत्यु भएको थियो ।