बिर्तामोड । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले भारतमा रोजगारी गरेर अर्जुनधारा–८ मा मामाघर आएका राम खवासलाई फिर्ता पठाएको छ । प्रहरीसहितको स्वास्थ्य टोलीले उनलाई मामाघरमा बस्न नदिएको हो ।

भारतबाट आएका कारण उनमा रोगको संक्रमण भएको आशंकाले मामाले घरभित्र प्रवेश गर्न दिएका थिएनन् । खवासका मामा संचलाल खवासले भाञ्जा भारतबाट आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले उनलाई निगरानी गरी नगरको स्वास्थ्य टोली बोलाएको थियो । स्वास्थ्य टोलीले खवासलाई मोरङको कर्सिया पठाएको हो ।

कर्सियामा घर भएका उनी लामो समयदेखि भारतको दार्जिलिङमा मजदुरी गर्दै आएका थिए । लक डाउनका कारण हातमुख जोर्न समस्या भएपछि उनी त्यहाँबाट रेल चढेर नक्सलबारी हुँदै पैदल नै नेपाल आएको बताए । काँकडभिट्टाबाट नेपाल आउन प्रहरीले नदिने भएका कारण उनी बाहुनडाँगीबाट प्रवेश गरेको बताए ।

कोरोना संक्रमणको त्रासले नगरपालिकाले अन्य स्थानीय तहबाट अर्जुनधारामा आउन रोक लगाएको छ । अरू स्थानीय तहबाट अर्जुनधारा आउनेले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले बताए ।

‘होम क्वारेन्टाइनमा बस्न अस्विकार गर्नेलाई आएकै स्थानमा फर्काउँछौं, बस्नेतले भने–‘कसैले जवरजस्ती गर्न खोज्यो भने प्रहरीले पक्राउ गर्छन र हिरासतमा राख्छन् ।’ बस्नेतले अहिलेसम्म पक्राउ गर्नुपर्ने अवस्था नआएको बताए ।

उनले नगरपालिकामा अहिले ६० जना होम क्वारेन्टाइनमा राखिएको बताए । ‘होम क्वारेन्टाइनको शर्त सबैले पालना गर्नु पर्छ, बस्नेतले भने–‘शर्त पालना नगर्नेलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा लगेर राख्ने गरेका छौं ।’ नगरपालिकाले अर्जुनधारा स्वास्थ्य चौकीलाई क्वारेन्टाइन बनाएको छ ।

नगरपालिकाले कोरोना संक्रमण हुन नदिन ध्यान केन्द्रित गरेको मेयर हरिकुमार रानाले बताए । उनले स्वास्थ्य शाखालाई आवश्यक पर्ने श्रोत, साधन उपलब्ध गराउन कुनै कन्जुस्याइँ नगरेको समेत दाबी गरे । अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।