भोजपुर/ भोजपुर नगरपालिका-२ हेलौछाका ९५ बर्षिय बिर बहादुर तामाङलाई नागरिकता वितरण गरिएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा बुधबार नागरिकता वितरण गरिएको हो ।
नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले तामाङले अब राज्यले दिने सेवा सुविधा पाउने बताए । उमेर हुँदा दैनिक ज्यालादारीमा काम गर्दै आएका तामाङ अहिले अशक्त भए पछि घरमै थलिएको तामाङका नाती पुर्ण बहादुर तामाङले जानकारी दिए । नागरिता पाए पछि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउने भन्दै तामाङ खुसी भएका छन् ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई खोजि खोजि नागरिकता प्रदान गर्दै आएको प्रजिअ पुरीले जानकारी दिए । प्रजिअ पुरीका अनुसार तामाङसहित अहिले सम्म अरुण गाउँपालिकाका लाटा सार्की, रामप्रसादराइ गाउँपालिकाकी हिरा राई र भोजपुर नगरपालिका-१२ की बैशाखी कपाली गरि चार जनालाई नागरिकता प्रदान गरिएको छ ।
नागरिकता बितरण कार्यक्रममा भोजपुर नगरपालिकाकी उप प्रमुख ममिता राई, जिल्ला समन्वय समिती भोजपुरकी सदस्य रमा राई, सामाजिक अभियन्ता सुशिला तामाङ, सम्झना प्रधान लगाएतको उपस्थिती रहेको थियो ।